पन्चकन्यामा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, विजेता तथा उपविजेता पुरस्कृत

पुङ्सेमा नुवाकोट र फाइटमा काठमाडौं प्रथम
लोकखवर विशेष संवाददाता
२०८२ मंसिर १४, आईतवार २२:५९

बिदुर– ग्रामीण भेगमा खेल गतिविधि गर्ने उद्धेश्यले नुवाकोटको पञ्चकन्यामा खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमकावीच विजेता तथा उपविजेता तेक्वान्दो समूहलाई पुरस्कृत गरिएको छ । पञ्चकन्या गाउँपालिकाको सहयोगमा राष्ट्रिय तेक्वान्दो संघ नेपाल नुवाकोटको आयोजनामा सञ्चालित प्रथम पञ्चकन्या गाउँपालिका खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि पुङसेतर्फ नुवाकोट र फाइटतर्फ काठमाडौंले जितेको हो । दुई दिनसम्म सन्चालित प्रतियोगितामा ३३ जिल्लाका पांचसय जना खेलाडिहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पुङसेतर्फ नौ स्वर्ण, १० रजत र १७ कास्य पदक जितेर नुवाकोट प्रथम भएको छ । नुवाकोटले ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद २० हजार रुपैया हात पारेको छ । धादिङले नौ स्वर्ण, आठ रजत र १० कास्य पदक जितेर दोश्रो भएको छ । धादिङले ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद १५ हजार रुपैया पुरस्कार पाएको छ ।

६ स्वर्ण पदक जितेर काठमाडौं तृतीय भएको छ । काठमाडौंले ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद १० हजार रुपैया हात पारेको छ । प्रतियोगितामा फाइटतर्फ २५ स्वर्ण जितेर काठमाडौं प्रथम भएको छ । काठमाडौले ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद एकलाख रुपैया जितेको छ ।

प्रतियोगितामा काठमाडौ कोटेश्वर डोजाङले १० स्वर्णसहित दोश्रो भएर ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद ५० हजार रुपैया जितेको छ । चितवनले सात स्वर्णसहित तृतीय भएर नगद २५ हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ ५६ वटा विद्यामा खेल खेलाइएको आयोजक राष्ट्रिय तेक्वान्दो संघ नेपाल नुवाकोटका अध्यक्ष सुजन तामाङले जानकारी दिए ।

प्रतियोगितामा वेष्ट फाइटरमा महिलातर्फ काठमाडौं कोटेश्वर डोजोकी सेमी गुरुङ, र चितवनकी अस्मिता परियारले नगद पांच हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । पुरुषतर्फ काठमाडौं कोटेश्वरका जोनसोन चाम्लिङराई र नुवाकोटका विवेक तामाङले वेष्ट फाइटरमा पुरस्कृत भएका छन् । उनीहरुले पनि नगद पांच हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र पाए ।

प्रतियोगितामा अनुशासित टिमतर्फ मकवानपुर र नुवाकोटले फेयर प्लेको ट्रफि हात पारेको छ । विजेता, उपविजेता तेक्वान्दो टिम तथा खेलाडिहरुलाई पञ्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ रमेश, पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, प्रदेश सभा सदस्य रमेशकुमार महत, पन्चकन्या गापा उपाध्यक्ष विमला पाठककेसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, राष्ट्रिय तेक्वान्दो संघ नेपालका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पुरस्कृत गरे ।

प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अतिथी पुर्वमन्त्रि डा. महतले संविधानलाई उचित मार्गमा लैजानका लागि निर्वाचन उपयुक्त रहेको वताए । उनले सरकारले संविधान कार्यान्वयन र देशको राजनीतिक स्थिरता सुनिश्चित गर्न निर्वाचनमा पूर्ण रूपमा केन्द्रीत हुनुपर्ने बताए ।

डा. महतले अगाडि भने सरकारले पूर्वाग्रहका आधारमा काम गर्न थाले भने निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न हुन सक्दैन । महतले संविधानलाई सहि मार्गमा फर्काउने एक मात्र उपाय निर्वाचन भएको पनि वताए ।

उनले थपे, “संवैधानिक कोणबाट समस्या रहेको छ । तर, निर्वाचित सरकारले मात्र जनताको आवश्यकता, विकास र निर्माण कार्यमा ध्यान दिन सक्ने वातावरण सिर्जना गर्न सक्छ । त्यसैले सरकारले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्छ र शान्ति सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्नु अनिवार्य छ ।”

उनको भनाइले आगामी निर्वाचनको तयारीलाई अझ प्रभावकारी बनाउने र संविधान कार्यान्वयनलाई मजबुत बनाउने आवश्यकतालाई जोड दिएको छ । जनताका लागि पनि निर्वाचन आवस्यक रहेको उनको भनाई छ ।

यसअघि, उक्त प्रतियोगिताको उद्घाटन पुर्वमन्त्रि हितवहादुर तामाङले गरेका थिए । उनले खेलकुदको विकासवाट मानव जीवनमा सकारात्मक सचेतना हुने वताए ।


सर्वाधिक रुचाइएको