बाआमा छोराछोरीसंग गापा अध्यक्ष

– शिक्षालाई आधुनिकिकरणमा जोड
लोकखबर
२०८२ मंसिर १७, बुधबार २२:०३

बिदुर-नुवाकोटको दक्षिणी भेगमा रहेको तारकेश्वर गाउंपालिकाले बाआमा छोराछोरीसंग गाउंपालिका अध्यक्ष कार्यक्रम सन्चालन गरेको छ । एक सातामा तीन वटा विद्यालयमा उक्त कार्यक्रम गरिएको छ । तारकेश्वर गापा ३ तारुकास्थित गोरखनाथ आधारभूत विद्यालयमा बाआमा छोराछोरीसंग गापा अध्यक्ष कार्यक्रम गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गापा अध्यक्ष शिव अधिकारी अविरलले अव समयअनुकुलको शिक्षा आवस्यक रहकेो वताए । अध्यक्ष अधिकारीले आधुनिक र व्यवहारिक शिक्षाको आवस्यकता रहेको औल्याए । उनले तारकेश्वर गापाले शिक्षामा आवस्यक कार्यहरु गरिरहेकोसमेत वताए । अध्यक्ष अधिकारीले शिक्षाको विकास र विस्तारका लागि शिक्षक, अभिभावक, विद्यार्थीहरुले सामूहिक प्रतिवद्धतासहितको कार्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा उनले तारुकास्थित गोरखनाथ आविलाई ३ लाख रुपैया बराबरको सहयोग घोषणासमेत गरे ।

अध्यक्ष अधिकारीले विद्यालयको शैक्षिक सुधारका लागि एक लाख र विद्यार्थीहरूलाई प्रत्यक्ष अवलोकन गर्दै, पढ्दै सिक्ने अवधारणा अनुरूप ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदाहरूको अध्ययन, अवलोकन गराउन शैक्षिक भ्रमणका लागि एक लाख र ’संस्कार सहितको शिक्षा’लाई प्रवद्र्धन गर्न नैतिक र सांस्कृतिक शिक्षाको दुई महिने कक्षा सञ्चालनका लागि ४० हजार रुपैया सहयोग गापाले उपलब्ध गराउने प्रतिवद्धतासहितको घोषणा गरे । अध्यक्ष अधिकारीले शिक्षक र कर्मचारीको हाजिरीलाई व्यवस्थित र पारदर्शी बनाउन इलेक्ट्रोनिक हाजिरी मेसिन गाउँपालिकाबाट जडान गरिनुका साथै विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावक र सरकारवीचको आपसी समन्वय र साझा प्रयासबाट मात्रै विद्यालयको उन्नति सम्भव हुने बताउँदै अध्यक्ष अधिकारीले अभिभावकहरूले पनि विद्यालय र आफ्ना नानीहरू दुवैको गतिविधिमा चासो राख्दै मार्गदर्शन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष अधिकारीले परम्परागत शिक्षणशैलीमा मात्र भर नपरी समयसापेक्ष प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने र त्यसका लागि गाउँपालिकाले सूचना प्रविधिसम्बन्धि तालिम सञ्चालन गर्ने र कम्प्युटर, प्रिन्टरजस्ता प्रविधिका सामग्री सहयोग गर्ने कार्य गर्दै आएको बताए । बदलिँदो समय र प्रविधिलाई ख्याल गरी शिक्षकहरूले निरन्तर सिक्ने, सिकेका कुरा शिक्षण र व्यवहारमा लागू गर्दै आफूलाई अपडेट गर्दै जानुपर्ने उनको सुझाव रहेको छ ।

यस्तै, तारकेश्वर गापा ५, गोस्र्याङ मानेडाँडास्थित नील सरस्वती आधारभूत विद्यालयमा पनि बाआमा छोराछोरीसंग गापा अध्यक्ष कार्यक्रम गरिएको छ । कार्यक्रमको उद्घाटान गर्दै गापा अध्यक्ष अधिकारीले विद्यालयका लागि  २ लाख रुपैया सहयोगको घोषणा गरेका छन् । अध्यक्ष अधिकारीले विद्यालयको शैक्षिक सुधारका लागि एकलाख र विद्यार्थीहरूलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गराउने शैक्षिक भ्रमणका लागि थप एक लाख उपलब्ध गराइने प्रतिवद्धता जनाए ।

विद्यालयमा जातीय पहिचानसहितको मौलिक पोशाक, ‘बुक फ्रि डे’ तथा शैक्षिक क्रियाकलाप सन्तोषजनक देखिएको उल्लेख गर्दै अध्यक्ष अधिकारीले विद्यालय, शिक्षक र अभिभावकबीचको राम्रो समन्वयले मात्र विद्यालयको उन्नति सम्भव हुने वताए । अभिभावकहरूले बालबालिकाको सिकाइ र विद्यालयका गतिविधिमा निरन्तर चासो राख्नुपर्ने उनको भनाई छ । परम्परागत शिक्षण पद्धतिमा मात्रै निर्भर नभई प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्दै गापाले सूचना–प्रविधि तालिम, कम्प्युटर, प्रिन्टरलगायत सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिए ।

बदलिँदो समय र प्रविधिलाई आत्मसात् गर्दै शिक्षकहरूले निरन्तर सिक्ने, सिकेका कुरालाई व्यवहारमा उतार्ने तथा आफूलाई निरन्तर सुधार गर्दै जानुपर्ने सुझाव अध्यक्ष अधिकारीको रहेको छ । यस्तै, तारकेश्वर गापा –१, फलाँटेस्थित पञ्चमिलन माविको ३०औं वार्षिकोत्सव विशेष सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य तथा पुर्व कृषि राज्यमन्त्रि राधिका तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी ‘अविरल’ले विद्यालयको समग्र प्रगति प्रशंसनीय रहेको उल्लेख गर्दै तत्कालका लागि विभिन्न शिर्षकमा कुल दुई लाख रुपैया उपलव्ध गराइने प्रतिवद्धता जनाए ।

अध्यक्ष अधिकारीले विद्यार्थीको शैक्षिक अनुभव समृद्ध बनाउन शैक्षिक भ्रमणका लागि एकलाख, वार्षिकोत्सव संचालन सहयोगस्वरूप ५० हजार र आवश्यक फर्निचर खरिदका लागि ५० हजार रुपैया उपलब्ध गराउने प्रतिवद्धता जनाए । उनले समयअनुकूल प्रविधिमैत्री शिक्षामा जोड दिँदै आगामी गाउँपालिकाको बजेटमार्फत विद्यालयलाई ६ लाख ५० हजार मूल्य बराबरको आइसिटी प्रविधि प्रदान गरिने प्रतिबद्वता जनाए ।

कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य राधिका तामाङले शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनबीचको सहकार्यले विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने बताइन् । उनले शिक्षाको गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री विद्यालय निर्माण तथा विद्यार्थीमैत्री वातावरण सुदृढीकरणतर्फ सवैको सक्रियता जरुरी रहेको वताइन् ।


सर्वाधिक रुचाइएको