प्रसिद्ध दुप्चेश्वर पुगे लाखौं भक्तजन

सवै समुदायको संगमस्थल वन्दै
लोकखवर विशेष संवाददाता
२०८२ मंसिर १८, बिहीबार २२:०४

बिदुर–  पशुपतिनाथको पर्यायका रुपमा प्रसिद्ध नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेलामा लाखौं सर्वसाधारणले दुधको धारा चढाएका छन् । निःसन्तानलाई सन्तान दिने जनविस्वासले प्रसिद्धि कमाएको चर्चित र मुख्य धार्मिक पर्यटकिय स्थल दुप्चेश्वरमा यस वर्ष लागेको मेलामा लाखौं भक्तजनहरुले सहभागिता जनाएका हुन् । दुप्चेश्वरमा यस वर्ष साताव्यापी लागेको मेलाका अवसरमा एक लाख २५ हजार जना भन्दा वढिले मेला भरेका छन् । मेलामा उत्साहपुर्वक रुपमा सर्वसाधारणले दुप्चेश्वर पुगेर पुजापाठसमेत गरेका हुन् ।

साताव्यापी रुपमा लागेको मेलामा हजारौ निःसन्तान दम्पत्तिले सन्तान प्राप्तिको माग गरेका छन् । मेलामा देश तथा विदेशबाटसमेत तीर्थालुहरुको सहभागिता रहेको थियो । दुप्चेश्वर मेला साताव्यापी रुपमा लागेको थियो । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउंपालिका ६ अर्थात् साविकको राउतबेशी गाविस ८ मा रहेको तादी खोलाको पुर्वी मोहडाको किनारामाथिको करेजुङको विशाल पहरोमा रहेको दुप्चेश्वरमा यस बर्षको मूख्य मेला विहीबार दुप्चेश्वरलाई गाईको दुधको धारा चढाउंदै सम्पन्न भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

यस वर्ष मेलामा भक्तजनहरुको संख्या गत वर्षको भन्दा १५ प्रतिशत वृद्धि भएको मेला आयोजक समितिले जनाएको छ । मेलामा दुई सातासम्म गरि एकलाख २५ हजार जनाले सहभागिता जनाएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । प्रसिद्ध दुप्चेश्वर धाम परिसरमा यस वर्षमात्रै स्नानका लागि एकसय आठ धारा, गणेश पण्डित स्मृति पार्क, सार्वजनिक जग्गामा संरचना निर्माण, घेरावार लगाइएको कारण थप आकर्षक वनेको दुप्चेश्वर गापा कार्यालयका भुपेन्द्र केसीले जानकारी दिए । उनका अनुसार मेलामा पुजाआजा गर्नका लागि वृद्धवृद्धा, अशक्त तथा साना वच्चाका आमाहरुका लागि विशेष व्यवस्था गरिएको थियो ।

मेलामा सवै किसिमका मानिसहरु आएर दुप्चेश्वरमा पुजापाठ गर्नुका साथै दूध, दाम्लो, जनै, सुपारी चढाएको दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिए । उनका अनुसार दुप्चेश्वरमा लागेको धान्यपुर्णिमाको मेला शिवरात्रीपछिको नेपालको दोश्रो ठुलो मेला हो । पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वरमा धान्यपूर्णिमाको अबसरमा एक सातासम्म विशेष मेला लागेको पुजारी भगवानहरि धितालले वताए । विशेषगरी सन्तान नभएका दम्पत्तिहरु सन्तान हुने विस्वासमा पुजा आराधना गर्न पुग्छन् भने कतिपय सन्तान भए पनि दर्शन गराउन बालबालिकासहित पुग्छन् ।

वोली नफुरेका वालवालिकालाई दुप्चेश्वरमा दर्शन गराएमा वोली फुर्ने र दाम्लो चढाएमा नभ्याएका गाई गोठमा वाच्छावाच्छी पाउने जनविस्वास रहेको पुजारी धितालले वताए । मोटरवाटोको सुविधा रहेका कारण मेलामा वर्षेनी देश विदेशवाटसमेत भक्तजन आउने गरेका छन् । यस बर्ष दुप्चेश्वर मेला भर्न नुवाकोटका साथै सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुरलगायतका जिल्लाबाट लाखौं भक्तजनहरु आएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले वताए । उनका अनुसार भक्तजनहरुको सुविधाका लागि दुप्चेश्वर क्षेत्र विकास कोष र दुप्चेश्वर गापाले आवस्यक वजेटको व्यवस्थाका साथै तीर्थालुहरुको स्वास्थ्य परिक्षण तथा स्वंसेवकको व्यवस्था गरेको थियो ।

दुप्चेश्वर–६ का वडाध्यक्ष किशोर आचार्यले मेलामा देश तथा विदेशवाटसमेत तीर्थालु आएको जनाए । उनका अनुसार दुप्चेश्वर मन्दिर नजिकैसम्म मोटरबाटो पुगेकोले भक्तजनहरुलाई आवतजावतमा सहज भएको छ । आफुले दुप्चेश्वर पुगेर पुजाआजा गर्दै पहिले छोराको कामना गरेको र छोरा प्रापत भएको वेलकोटकी इन्दिरा रेग्मीले वताइन् । पहिले पुजाआजा र प्रार्थना गर्दा छोरा प्राप्तिको कामना पुरा भएको र पछि छोरासहित दर्शन गर्न पुगेको उनको भनाई छ ।

पौराणिक कथनअनुसार सदियौैं वर्षअघि स्थानीय करिजुङका गाइपालक किसान वासु तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा करेजुङको पहरोमा दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुग्धेश्वर महादेव रहेको विस्वासमा प्रत्येक वर्ष धान्यपूर्णिकाका दिन विशेष मेला लाग्दै आएको किंवदन्ती रहेको छ । मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रर्दशन र स्थानीय उत्पादनहरुको विक्रि वितरण समेत हुने मेला साँस्कृतिक र आर्थिक दृष्टिकोणबाटसमेत महत्वपूर्ण मानिदै आएको दुप्चेश्वर गापाकी उपाध्यक्ष माकुरी तामाङको भनाई छ ।

दुप्चेश्वर महादेव सबै धर्मको आस्थाको केन्द्रसमेत रहेकाले यस क्षेत्रको विकासमा विशेष पहल हुनुपर्ने स्थानीय युवा अगुवा रमेशप्रसाद आचार्र्यले बताएका छन् । उनका अनुसार दुप्चेश्वरमा हिन्दु तथा वौद्ध धर्मावलम्वीहरु गत वर्ष भन्दा यस वर्ष धेरै आएका छन् । दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा साताव्यापी लाग्ने मेलाको रौनक विशेष र महत्वपुर्ण रहेको छ । मन्दिरमा लाग्ने मेलाको मुख्य दिन विहीबार पूर्णिमाको बिहानी प्रहरमा पूजाराधना गर्ने भक्तजनको निकै सहभागिता रहेको थियो ।

एकादशीदेखि नै शुरु भएको घुइँचो अघिल्लो वर्षभन्दा भक्तजनको आगमन यस वर्ष धेरै भएको मन्दिरका पुजाआरती समितिका रामेश्वर धितालले जानकारी दिए । सदियौं वर्ष पहिले वासु तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवान्लाई दूध चढाई बसेको स्थानलाई भक्तजनले दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि पुज्दै आएको उनले वताए । दुप्चेश्वरको मेलामा स्वंसेवक खटाएर मेलाको व्यवस्थापन तथा सहजीकरण गरिएको दुप्चेश्वर गापाले जनाएको छ । भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको छ ।

दुप्चेश्वर मन्दिर पुगेर पुजाआराधना गरेमा अविवाहितलाई जोडी प्राप्ति, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनेर दुप्चेश्वरको प्रख्याति छ । समुद्र मन्थन गर्दा निक्लिएको कालकूट विष सेवनपछि छट्पटिनुभएका शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइकुण्ड गएको किंवदन्ती पनि छ । दुप्चेश्वरमा धान्य पूर्णिमा, फागु पूर्णिमा र शिवरात्रीमा विशेष मेला लाग्ने गरेको छ । मेलामा तामाङ झाँक्री र तिनको ढ्याङ्ग्र्रो मुख्य आकर्षक रहन्छन् ।

दुप्चेश्वर महादेव मन्दिरमा धान्य पूर्णिमाका अवसरमा एकादशीदेखि शुरु भएको मेला चतुदर्शीको रात र पूर्णिमाको दिन बिहानसम्म लागेको मन्दिर संरक्षण समितिले जनाएको छ । पूजाआराधना गर्ने भक्तजनको संख्या विहीवारसम्म एकलाख २५ हजार पुगेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । ऐतिहासिक धार्मिक महत्वको तीर्थस्थल दुप्चेश्वरको प्रचारप्रसार र संरक्षणका लागि हाल आएर स्थानीय सरकार क्रियाशील भएको दुप्चेश्वर गाउँपालिको कार्यालय समुन्द्रटारले जनाएको छ । महादेवको स्थानसहित आसपासको जग्गा प्राप्ति, शिलामा अवस्थित महादेवका लागि मन्दिरसहित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्यसाथ गुरुयोजनासहितको विविध संरचनाको निर्माण थालिएको छ ।

“यातायात सेवाको सहजता, भक्तजनका लागि आश्रयस्थलसहितको गुरुयोजना बनाएर दुप्चेश्वर महादेव मन्दिरको पूर्वाधार विकास र महिमालाई प्रचार गर्न स्थानीय तहको सरकारले काम शुरु गरेको छ”, गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ । नुवाकोटको मात्र नभई देशकै लागि ऐतिहासिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेला यस वर्ष तीर्थालुको आगमनमा वढोत्तरी भएर उल्लासपूर्ण रुपमा सकिएको छ ।

‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवान्को रुपमा पुजिने दुप्चेश्वर महादेवले सन्तानमा पनि पुत्रलाभ गराउने महादेवको रुपमा विश्वासको साथ भक्तजन मन्दिरको दर्शनको लागी जाने गरेका छन् । स्थानीयवासी लालवहादुर तामाङका अनुसार मेलामा तीर्थालुलाई मन्दिर क्षेत्र पुग्ने सडक मर्मत, सडक बत्ति जडान, पाहुनालाई बस्ने ठाउँ, पार्किङ स्थल बनाउने, मन्दिर परिसर सजावटलगायत विभिन्न कार्य गरिएका थिए ।

सो मेलामा सहभागी भक्तजनको लागि थर्पु, बास बस्न अस्थायी आवास, जात्रामा सहभागी हुने झाक्री, लामा, ढ्याङ्ग्रेहरुको लागि थप सुविधाको समेत व्यवस्था मिलाइएको थियो । दुप्चेश्वर मेलामा धुपी, डोको, थुञ्चे बिक्री मेलामा फस्टाउने भए पनि सरकारले निगालो कटानमा लगाएको प्रतिबन्धले हस्तकलाबाट उत्पादित सामग्री बेच्न बस्नेको सङ्ख्या पछिल्लो वर्षहरुमा घट्दै गएको छ ।

दुप्चेश्वरलाई दोस्रो पशुपतिनाथको पर्यायको रुपमा पछिल्लो दुई सय वर्षदेखि पुजिदै आएको छ । भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको स्थानीय अगुवा तथा पुर्व जनप्रतिनिधि राजकुमार पण्डितको भनाई छ । अविवाहितलाई जोडी प्रदान, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने दुप्चेश्वरको प्रख्याति रहेको छ । समुद्रमन्थन गर्दा निक्लिएको कालकूट विष सेवनपछि छट्पटिएका शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइँकुण्ड गएको किंवदन्ती पनि छ ।

मेलामा तामाङ झाँक्री र उनीहरुको ढ्याङ्ग्रो मुख्य आकर्षक रहन्छन् । सर्वसाधारणले ‘जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रूपमा विश्वास गर्दै नुवाकोट, रसुवा, धादिङ, काठमाडांै हुँदै नेपाल तथा भारतलगायतबाट समेत भक्तजनहरू गाडी रिजर्भ गरेर दुप्चेश्वर महादेवको मन्दिरमा पूजा आराधना गर्न आउने गरेका छन् ।
मेलामा दुप्चेश्वरमा उत्पादन गरिने हस्तकला सामग्री, भीर माहुरीको मह, चौरीको घिउ, छुर्पी, फाफर पिठोलगायतको स्टलहरु राखिएका थिए । धान्यपूर्णिमाको विशेष जात्रा बाहेक पनि दुप्चेश्वरमा महाशिवरात्री, साउन महिनाभर तथा अन्य समय सोमवार र विहीवारसमेत मेला लाग्दै आएको छ ।

धान्य पूर्णिमाकै अवसरमा नुवाकोटको शिवपुरी, म्यागङ, तारकेश्वर, सुर्यगढी, किस्पाङलगायतका मन्दिरहरुमा मेला लागेको छ । सर्वसाधारणले महाद्विप प्रज्वलनसमेत गरेका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–८ थानापतिस्थित धार्मिक तथा सांस्कृतिक महत्वको स्थल थानापती दामचन्द्रमाला मन्दिरमा धान्य पूर्णिमाको अवसरमा विजशेष मेला लागेको छ । भक्तजनहरूले मन्दिर परिसरमा बत्ती बाल्दै पूजा–आराधना गरेका थिए ।

धान्य पूर्णिमाको अवसरमा राती बत्ती बालेर रातभर जाग्राम बस्ने परम्परा भक्तजनबीच अझै पनि उतिनै श्रद्धा र उत्साहसाथ मनाइने गरिन्छ । नुवाकोटका अधिकांश स्थानमा धान्यपुर्णिमाको अवसरमा लागेको मेलामा सर्वसाधारणको भीड लागेको थियो ।


सर्वाधिक रुचाइएको