ऐसेलुभुमेले जित्यो छैटौं राष्ट्रपति रनिङशिल्डको उपाधि

– विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान
लोकखवर खेल संवाददाता
२०८२ मंसिर २८, आईतवार २३:२७

बिदुर– विद्यालयमा खेलकुदको विकास र विस्तारका लागि नुवाकोटको किस्पाङ गाउँपालिकामा सन्चालित ‘छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ सम्पन्न भएको छ । प्रतियोगितामा विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा ऐसेलुभुमे माध्यमिक विद्यालय प्रथम भएको छ ।

कुल २२ स्वर्ण पदकको लागी गरिएको प्रतिस्पर्धामा ऐसेलुभुमे माविले सात स्वर्ण जितेको थियो । ५ रजत र ५ कास्य सहित १७ पदकको साथमा यो वर्षको किस्पाङ गाँउपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ऐसेलुभुमे मावि पहिलो भएको हो ।

प्रतियोगितामा पदक बिजेतासहित सहभागी विद्यार्थीहरुलाई विद्यालय सहित स्थानीय शिक्षाप्रेमीहरुले प्रोत्साहन स्वरुप नगद रुपैयाँ, शैक्षिक सामग्रीहरु प्रदान गरेर सम्मान गरिएको छ । चार दिनसम्म सन्चालित प्रतियोगितामा ज्ञानज्योति माविले ७ स्वर्ण ३ रजत, ५ कास्य पदकसहित दोश्रो र जल्जुखोला माविले ५ स्वर्ण २ रजत र ४ काश्य पदकसहित तेश्रो भएको छ । यस्तै, त्रिभुवन माविले २ स्वर्ण १ रजत, १ कास्य पदकसहित चौंथो, पञ्चलिङ्गे माविले १ स्वर्ण ६ रजत र ५ कास्य पदकसहित पांचौ तथा साल्मे माविले ५ रजत र २ कास्य पदकसहित छैटौं स्थान हात पारेको थियो ।

विजेता तथा उपविजेताहरुलाई किस्पाङ गापा उपाध्यक्ष अर्जुन न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत केदारप्रसाद खतिवडा, विभिन्न वडाका वडाध्यक्षहरुले पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा उपाधि जितेको ऐसेलुभुमे माविमा आयोजित कार्यक्रममा रनिङ शिल्ड प्रतियोगितामा सहभागी ४२ जना सम्पूर्ण विद्यार्थीलाई सम्मान एंव प्रोत्साहन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपाने, पदाधिकारीहरु, विद्यालयका प्रधानध्यापक पवनकुमार पौडेलसहित शिक्षकहरु, स्थानीय शिक्षाप्रेमी, समाजसेवीको उपस्थितीमा आयोजित खेलाडी (विद्यार्थी) सम्मान कार्यक्रममा रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई सम्मानसहित शैक्षिक सामग्रीहरु प्रदान गरिएको हो ।

खेल प्रशिक्षक शिक्षक सहित विद्यालयका शिक्षकहरुलाई पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको जनाउंदै सम्मान गरिएको छ । सो रनिङ शिल्ड प्रतियोगितामा ऐसेलु भुमे माविबाट २५ जना छात्र र १७ जना छात्राहरुले सहभागिता जनाएका थिए ।


सर्वाधिक रुचाइएको