चलचित्रकर्मीको क्षमता अभिवृद्धि कार्यक्रम

– भिडियो तथा फोटोग्राफी प्रशिक्षण सन्चालन
लोकखवर मनोरन्जन संवाददाता
२०८२ पुष ६, आईतवार २२:५१

बिदुर– चालु बर्षलाई चलचित्र विकास बोर्डले “चलचित्रकर्मी दक्षता बर्ष २०८२“ घोषणा गरेको छ । यसै कार्यक्रम अन्र्तगत चलचित्रकर्मीहरूको दक्षता बृद्विका लागि विभिन्न कार्यक्रम सन्चालन गरिएको हो । स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्ने उद्धेश्यले भिडियो तथा फोटोग्राफी प्रशिक्षण सन्चालन गरिएको छ ।

चलचित्र बिकास बोर्डको सहयोगमा मगर चलचित्रकर्मी संघको आयोजना तथा नेपाल पुन मगर समाज तल्लो गगनगौडाको व्यवस्थापनमा चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित एक महिने भिडियो तथा फोटोग्राफी प्रशिक्षण सन्चालन गरिएको हो । उक्त कार्यक्रमको गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापामगरले उद्घाटन गरिन् । उपसभामुख थापामगरले चलचित्र समाजको ऐना भएको उल्लेख गर्दै सामाजिक परिवेश, संस्कार र संस्कृतिको प्रतिनिधित्व गर्न चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

उनले प्रशिक्षार्थीहरूलाई चलचित्र क्षेत्रप्रति थप जिम्मेवार र प्रतिबद्ध भई तालिम लिन आग्रह गरिन् । कार्यक्रममा नेपाल पुन मगर समाज केन्द्रीय समितिका अध्यक्ष खमबहादुर पुनमगरले प्रदेश स्तरीय चलचित्र विकास बोर्ड गठनको आवश्यकता औँल्याउँदै यसले प्रदेशका चलचित्रकर्मीलाई थप अवसर प्रदान गर्ने धारणा व्यक्त गरे । मगर चलचित्रकर्मी संघका संस्थापक अध्यक्ष तथा मगर–गुरुङ चलचित्रका निर्देशक युवराज मास्की रानामगरले मगर चलचित्रको इतिहासमाथि प्रकाश पारे ।

संस्थापक महासचिव मेजन पुनमगरले मगर चलचित्रको विगत र वर्तमान अवस्थाबारे जानकारी गराए । संघका निवर्तमान अध्यक्ष भीम रानामगरले फोटो तथा भिडियोमार्फत आत्मनिर्भर बन्न सकिने उल्लेख गर्दै तालिमलाई गम्भीरतापूर्वक लिएर सिप सिक्न आग्रह गरे । गुरुङ चलचित्रका अध्यक्ष राजबहादुर गुरुङले विगतमा चलचित्र विकास बोर्डमा आदिवासी समुदायका चलचित्रहरू निःशुल्क दर्ता गरिनुपर्ने विषय उठाइएको स्मरण गराए ।

चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालन हुँदै आएको यो कार्यक्रम आदिवासी जनजाति तथा मातृभाषी चलचित्रको प्रवद्र्धनसँग प्रत्यक्ष रूपमा जोडिएको छ । बोर्डले लामो समयदेखि आदिवासी जनजाति समुदायका चलचित्रकर्मी, भाषा र संस्कृतिमा आधारित चलचित्रलाई निरन्तर प्रोत्साहन गर्दै आएको जनाएको छ । गत वर्ष चलचित्र विकास बोर्डले सहकार्य र सहयोगमा १४ वटा जातीय चलचित्र संगठनहरूले तालिम, कार्यशाला तथा चलचित्रसम्बन्धि कार्यक्रम सञ्चालन गरेका थिए, जसबाट स्थानीय स्तरमै चलचित्र निर्माण, प्रविधि र सिप विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

यसै सन्दर्भमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चालु वर्षलाई ‘दक्षता अभिवृद्धि वर्ष’ घोषणा गरिएको स्मरण गर्दै स्थानीय चलचित्रकर्मीको सीप, क्षमता र व्यावसायिकता अभिवृद्धि गर्ने कार्यक्रमहरूमा बोर्डले प्राथमिकताका साथ सहयोग तथा सहकार्य गर्दै आएको वताए । उनले चलचित्र उद्योगलाई दीगो, समावेशी र प्रतिस्पर्धी बनाउन स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि अपरिहार्य रहेको र आदिवासी जनजाति तथा मातृभाषी चलचित्रहरू नेपाली चलचित्र उद्योगका बलिया आधार भएकाले यस्ता तालिम तथा कार्यक्रमलाई चलचित्र विकास बोर्डले निरन्तर सहयोग गर्ने बताए ।

एक महिनासम्म सञ्चालन हुने यस तालिमले स्थानीय प्रतिभा पहिचान, प्रविधिमैत्री सिप विकास, सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । यसवाट चलचित्रकर्मी उत्पादन हुन लक्ष्य रहेको छ ।


सर्वाधिक रुचाइएको