झिल्टुङ क्रसकन्टीको दशौं संस्करण तयारी
बिदुर– नुवाकोटको ऐतिहासिक क्षेत्रको प्रवद्र्धनको उद्धेश्यले गरिदै आएको झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको दशौँ संस्करणको तयारी गरिएको छ । खेल पर्यटनको मुख्य लक्ष्यसहित आयोजित उक्त प्रतियोगिता राष्ट्रिय धावकहरुको सहभागितामा आगामी माघ आठ गतेदेखि आयोजना गरिएको छ । बेलकोटगढी नगरपालिकाको आयोजना तथा एथलेटिक्स परिवार नेपालको सहजीकरण र प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताले राष्ट्रिय तथा स्थानीय खेलाडीहरुले आफ्नो धावक कला प्रस्तुत गर्नेछन् ।

तीन दिनसम्म खेल महोत्सवका रुपमा गरिने उक्त प्रतियोगितामा विभिन्न १० ईभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा खुला पुरुष÷महिला, पुरुष भेट्रान र स्थानीय पुरुषमा १३ दशमदव ४ किलोमिटर दौड प्रतियोगिता गरिनेछ ।

जसमा पहिलो हुनेले २५ हजार, दोस्रो हुनेले ले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक बेलकोटगढी नपाले जनाएको छ । खुल्ला र स्थानीयको यू–१८ र यू–१६ छात्र/छात्रा तथा आमा/बुवा समूहको ४ दशमलव ५ किलोमिटर दौडमा प्रथम हुनेले १८ हजार, दोश्रो हुनेले १२ हजार र तेश्रो हुनेले आठ हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगितामा वाक एण्ड टक अर्थात् हिंड्दै र गफ गर्दै विद्यासमेत राखिएको छ । प्रतियोगिता आयोजक तथा संरक्षक बेलकोटगढी नपाका मेयर जगतबहादुर गुरुङले यस झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको दशौँ संस्करणले स्थानीय पहिचान, पैवद्र्धन, धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रवद्र्धनका लागि स्थानयि धावकहरुसमेत पहिचान हुने वताए ।
बेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहालले मानव जीवनमा खेल क्षेत्रको निकै महत्व रहेका कारण झिलटुङ क्रसकन्ट्री दौडलाई निरन्तरता दिइएको र यसलाई प्रभावकारी वनाइने वताए । दौडका सुरुवातकर्ता मोहन नेपालले यसलाई राष्ट्रियस्तर मात्रै नभई अन्तर्राष्ट्रियमा विस्तार गरिनुपर्ने समय आएको वताए । नुवाकोटका विभिन्न तथा राष्ट्रियस्तरका धावक सहभागीता रहने उक्त दौड बेलकोटगढी नपा ५ स्थित कोल्पुटारबाट सुरु भई विभिन्न स्थानको परिक्रमा गर्दै पुनः कोल्पुटारमै पुगेर टुंगिने आयोजकले जनाएको छ ।

निकै मनमोहक र आकर्षक स्थान गरिने उक्त दौडले खेल पर्यटनलाई उजागर गर्ने मेयर जगतवहादुर गुरुङको भनाई छ । प्रतियोगितामा सहभागिताका लागि बेलकोटगढी नपा कार्यालय र काठमाडौंस्थित एथलेटिक्स परिवार नेपालको कार्यालयमा सम्पर्क गर्नु पर्ने आयोजकले जनाएको छ ।












































