अनमोलसंग “बाटुलो जुन” खोज्दै भुवन केसी
बिदुर– मनोरन्जन बजार तातिंदै गएको अहिले नेपालको चलचित्र उद्योग उकालो लाग्दो छ । चलचित्र क्षेत्रलाई नयां दृश्यका लागि विशेषं र मनमोहक स्थानको खोजीसमेत हुने गरेको छ । सोही स्थानको खोजीमा रहेकाहरुलाई भने काठमाडौसंगै जोडिएको गन्तव्य नुवाकोट हुंदै गइरहेको छ ।

नुवाकोटमा चलचित्र, टेलिचलचित्र, हास्य टेलिसिरियललगायतको धमाधम छायांकन हुन थालेका छन् । यहि क्रममा पछिल्लो पटक नेपालका चर्चित कलाकारलाई लिएर चलचित्र क्षेत्रका सुपरस्टारले एक चलचित्रमार्फत नुवाकोटको दृश्यहरु आफ्ना चलचित्रमा कैद गरेका छन् । नेपालको वास्तविक अनि ४० वर्ष अगाडिको कथा चित्रण गरेको चलचित्रको निर्देशन गर्दै सुपरस्टार भुवन केसीले नुवाकोटका विभिन्न दृश्य छायांकन गरेका छन् ।

चर्चित सुपरस्टार नायक भुवन केसीले आफैले निर्देशन गरेको चलचित्र ‘बाटुलो जुन’को विभिन्न दृश्य र गीत नुवाकोटको पर्यटकिय, धार्मिक अनि प्रसिद्ध स्थानहरुमा छायांकन गरेका छन् । उनले नायक तथा आफ्ना छोरा अनमोल केसीलाई लिएर आफ्नै चलचित्रमार्फत ‘बाटुलो जुन’ खोजिरहेका छन् । नुवाकोटको टाकुरो, शेराफांट, देवीघाट तथा महादेवफांटमा सुपरस्टार केसीको निर्देशनमा ‘बाटुलो जुन’ छायांकन गरिएको छ ।

कलाकार तथा निर्देशक केसीको टोलीले नुवाकोटका विभिन्न स्थानमा एक हप्ताको छायांकन गरेको हो । ‘बाटुलो जुन’ को सम्वाद, गीत तथा विभिन्न दृश्यहरु आकर्षक रुपमा खिचेर पर्दामा उतार्ने कार्य भइरहेको निर्माण टिमले जनाएको छ । ‘बाटुलो जुन’ मा केसीको साथै चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

‘बाटुलो जुन’ भुवन केसीको ड्रिम्सपछिको दोश्रो निर्देशन हो । दुई वर्षको तयारीसहित फ्लोरमा गएको ‘बाटुलो जुन’ मा भुवनका साथमा अनमोल केसी, न्यान्सी खड्का, प्रिन्सी खतिवडा, लक्ष्मी गिरी, लक्ष्मीनाथ शर्मा, शारदा गिरी, प्रकाश घिमिरे, रिया राई, स्वेता मिश्र, अर्पणा घतानी, दिपिका पौडेल, निमा पाण्डेलगायतका कलाकारहरुले अभिनय गरेका छन् । आगामी २०८३ सालमा प्रदर्शन लक्ष्य राखिएको ‘बाटुलो जुन’ को निर्मात्री जिया केसी हु्न् भने यसमा नेपालको मौलिकता, शैक्षिक ज्ञान तथा प्रेमका विषयलगायत समेटिएको कार्यकारी निर्माता तेजविक्रम केसीले जानकारी दिए ।

‘बाटुलो जुन’ को लेखक सामिप्यराज तिमिल्सिना र सरिन पोखरेल हुन् । ‘बाटुलो जुन’ को नृत्य निर्देशक रेनेशा राई र द्वन्द निर्देशक सम्राट वस्नेत हुन् । नेपालको भावना बोलेको मौलिक चलचित्रमा हात हालेको छु, आशा छ, दर्शकहरुले यस ‘बाटुलो जुन’ लाई मन पराइदिनुहुनेछ–निर्देशक तथा कलाकार भुवन केसीको भनाई छ ।

५५ दिनको छायांकनको तालिका लिएर हिडेको ‘बाटुलो जुन’को टोलीले नुवाकोटको साथै काठमाडौं, कुलेखानी, पोखरा, मुस्ताङ, ढोरपाटन र म्याग्दीको ताकुममा छायांकन गरेको छ । उक्त चलचित्रमा नुवाकोटको शेरादरवार तथा आसपासका स्थानमा गीत तथा नुवाकोट दरवार, देवीघाट, महादेवफांट आसपासमा चलचित्रका सम्वाद दृश्यहरु कैद गरेको छ । उक्त चलचित्रको गीत छायांकनको क्रममै सहभागी दर्शकहरुले निकै रुचाएको पाइएको छ ।

चलचित्र ‘बाटुलो जुन’ ले नेपालको चार दशक अगाडिको मार्मिक कथा पस्कने निर्माण पक्षले जनाएको छ । नुवाकोटमा यातायात तथा मोटरवाटोको उपलव्धता, आवस्यकता अनुसारका दृश्य तथा आर्थिक भारसमेत कम पर्ने भएका कारण दृश्यका पारखीहरुको गन्तव्य नुवाकोट हुदै गइरहेको छ । नुवाकोटको विभिन्न स्थानमा प्राकृतिक सम्पदा, पर्यटकिय स्थान, विभिन्न धार्मिक स्थल, नदी नाला तथा झरनाहरुका कारण चलचित्रका पारखीहरु लोभिन थालेका छन् ।

अझै नुवाकोट काठमाडौवाट यातायातको दुरीमा नजिकै छ । माछापोखरीवाट विहान चिया पिएर निस्केको व्यक्ति दुई घण्टा पनि नवित्दै नुवाकोटको विदुरमा खाना खाने समयमा पुगिसकेको हुन्छ । नुवाकोटका विभिन्न स्थानमा हालसम्म २५ भन्दा वढि चलचित्र, २० भन्दा वढि टेलिचलचित्र तथा हास्य विद्याका सिरियलहरु छायांकन भएर प्रदर्शनसमेत भइसकेका छन् ।

गोठालो, चुनौती, वडा नं. ६, भिजिलान्ते, कोही त छ, चम्पा चमेली, कान्छी मट्याङट्याङ, सुनपानीलगायतका ठुलो पर्दाका चलचित्रले नुवाकोटको धेरै मनमोहक दृश्य देखाइसकेका छन् । यस वाहेक अरु कतिपय ठुलो पर्दाका चलचित्रले नुवाकोटको दृश्य कैद गरिसकेका छन् । कतिपयले आंशिक, कतिपयले शतप्रतिशत नुवाकोटकै दृश्य खिचेका छन् ।














































