अडियो भिजुअल स्टुडियो सन्चालन
बिदुर– नेपाली चलचित्र तथा अडियो–भिजुअल उद्योगलाई अन्तर्राष्ट्रिय प्रविधिसँग जोड्ने उद्देश्यले प्रविधिको उद्घाटन गरिएको छ । डल्वीबाट प्रमाणित म्युजिक नेपाल अडियो भिजुअलको सगरमाथा एटमस मिक्स स्टेजको कार्यक्रमकावीच उद्घाटन गरिएको हो ।

उक्त प्रविधि आधुनिक रहेको छ । डल्वीद्वारा प्रमाणित म्युजिक नेपाल अडियो भिजुअलको अत्याधुनिक सगरमाथा एटमस मिक्स स्टेजको कार्यक्रमकावीच वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडीले संयुक्त रूपमा उद्घाटन गरे ।

उक्त आधुनिक स्टुडियोको उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले डल्वी एटमस जस्तो विश्वस्तरीय साउन्ड प्रविधि नेपालमै उपलब्ध हुनु नेपाली चलचित्र उद्योगका लागि महत्वपुर्ण उपलब्धि भएको दावी गरे । उनले यसवाट नेपाली चलचित्रको प्राविधिक गुणस्तर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

डल्वीबाट प्रमाणित सो सगरमाथा एटमस मिक्स स्टेजमा चलचित्रका लागि डल्बी एटमस साउन्ड मिक्सिङ तथा उच्चस्तरीय पोस्ट–प्रोडक्सन सेवा उपलब्ध हुने म्युजिक नेपाल अडियो भिजुअलले जनाएको छ । यसअघि सोही स्टुडियोमा चलचित्रका लागि डल्वी एटमस साउन्ड मिक्सिङ सम्बन्धि विशेष तालिम समेत सञ्चालन गरिएको थियो ।

जसमा नेपालका झण्डै तीन दर्जन व्यवसायिक ध्वनि प्राविधिकहरू प्रशिक्षित भएका थिए । उक्त तालिम चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा सहकार्य, म्युजिक नेपाल अडियो भिजुअलको आयोजना र अडियो भिजुअल सोसाइटी अफ नेपालको सह–आयोजनामा सञ्चालन गरिएको थियो ।

तालिमका लागि भारतीय चलचित्र उद्योगका चर्चित तथा डल्वीबाट प्रमाणित साउन्ड इन्जिनियरहरू भरत रेड्डी र दामन सुद नेपाल आएका थिए । उद्घाटनसंगै सुरुवात भएको सगरमाथा एटमस मिक्स स्टेजको सञ्चालनसँगै नेपाली चलचित्रको ध्वनि प्रविधिमा नयाँ युगको सुरुआत भएको सरोकारवालाहरूको भनाइ छ ।

यसले स्वदेशमै विश्वस्तरीय साउन्ड मिक्सिङ सुविधा उपलब्ध गराउँदै नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा अझ मजबुत रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको चलचित्र विकास वोर्डले जनाएको छ ।

















































