निर्वाचन प्रहरी माग १९१७, आवेदन २१२४

– वेरोजगारीको आकर्षण
लोकखवर विशेष संवाददाता
२०८२ माघ ५, सोमबार ००:२१

बिदुर– निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीका लागि नुवाकोटमा माग भन्दा धेरै आवेदन अर्थात् दरखास्त दर्ता भएको छ । वेरोजगारी समस्याका कारण केहि समयका लागि भए पनि रोजगारी पाउने आशामा आवेदन दिनेहरु वढि रहेका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा सशस्त्र र नेपाल प्रहरी गरि एकहजार नौसय १७ जना निर्वाचन प्रहरीको माग गरिएकोमा तोकिएको अवधिमा दुईहजार एकसय २४ जनाको आवेदन दर्ता भएको छ । दरखास्त दिनेहरुमा मिश्रित उमेर समूहका रहेका छन् ।

आगामी फागुन २१ गते घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माग गरिएको निर्वाचन प्रहरीका लागि नुवाकोटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरखास्त दिनेको भीड लागेको थियो । नुवाकोटमा नेपाल प्रहरीतर्फ एकहजार आठसय ६२ र सशस्त्र प्रहरीतर्फ दुईसय ६२ जनाले आवेदन दर्ता गरेका छन् ।

नुवाकोटमा नेपाल प्रहरीतर्फ एकहजार सातसय ३८ र सशस्त्र प्रहरीतर्फ एकसय ७९ जना निर्वाचन प्रहरी माग गरिएकोमा फाराम भर्नेहरु धेरै रहेका छन् । आवेदन भर्नेहरुको छनौट प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

विदुरस्थित जिल्ला प्रहरी र प्रहरी सशस्त्र परिसरमा निर्वाचन प्रहरीका लागि भर्ना हुन युवाहरुको आकर्षण देखिएको छ । माग संख्या अनुसार छनौट र अन्य १० प्रतिशत वैकल्पिक उम्मेदवार चयन गरिने तयारी गरिएको छ ।

अनुभव र केहि आयआर्जन पनि हुने भएका कारण निर्वाचन प्रहरीका लागि दरखास्त दिनेहरुको संख्य वढि रहेको हो । नुवाकोटमा इलाका प्रहरी कार्यालय ककनी र खरानीटारमार्फत पनि निर्वाचन प्रहरीको आवेदन लिइएकोे प्रहरी नायव उपरिक्षक विक्रम लामाले वताए ।

मागको संख्या भन्दा धेरै आव्ेदन भएको र मापदण्ड अनुसार निर्वाचन प्रहरी छनौट कार्य सुरु भएको सशस्त्र प्रहरी वल १९ नं. गुल्म विदुरले जनाएको छ । एकसय ७९ जना माग भएकोमा दुइसय ६२ जनाले आवेदन दर्ता गराएको गुल्म प्रमुख तथा प्रहरी नायव उपरिक्षक गंगा केसीको भनाई छ ।

साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पूरा भइ ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकहरूले निर्वाचन प्रहरीमा भर्नाका लागि दरखास्त दिएका हुन् । नुवाकोटमा नेपाल प्रहरी र सशस्त्र गरि चार वटा स्थानमा आवेदन फर्म दर्ता गरिएको थियो ।

निर्वाचन प्रहरीले सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको शुरू तलब स्केल बराबर पारिश्रमिक पाउने छन् । निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले यहि माघ ३ गतेसम्म आवेदन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले एकलाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी माग गरेको हो । वेरोजगारी समस्याका कारण पनि उक्त निर्वाचन प्रहरीमा आकर्षण वढेको जनाइएको छ ।


सर्वाधिक रुचाइएको