हतियार वुझाउन नुवाकोट प्रशासनको आग्रह
बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि लक्ष्यित गर्दै नुवाकोटमा निजी हतियार वुझाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्यित गर्दै दर्ता भएका हातहतियार बुझाउन नुवाकोट प्रशासनले आग्रह गरेको हो ।
निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन १२ स्थानीय तह रहेको नुवाकोटभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजानाहरू भरुवा बन्दुक यहि माघ २० गते मंगलवारसम्म बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । सहायक प्रजिअ कृष्णप्रसाद हुमागाइद्वारा वुधवार हस्ताक्षरित सार्वजनिक सूचनामा आफूसँग भएका हतियार जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

जिल्ला प्रहरी र प्रहरी इकाइमा बुझाएका हातहतियारहरू निर्वाचन सम्पन्न भएपश्चात् एक महिनापछि सम्बन्धित हतियार दर्तावाला व्यक्तिलाई फिर्ता गरिने सप्रजिअ हुमार्गाइले जारी गरेको सूचनामा उल्लेख छ । तोकिएको समयमा हातहतियार खरखजाना नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही गरिने जनाइएको छ ।
निर्वाचनको मिति नजिकिएसँगै इजाजत प्राप्त हतियार बुझाउन नुवाकोट प्रशासनले सूचना जारी गरेको हो । गृह मन्त्रालयको निर्देशनपछि नुवाकोटसहित ७७ वटै जिल्ला प्रशासन कार्यालयले आगामी फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राखेर हतियार बुझाउने सूचना जारी गरेको छ ।
निर्वाचनको समयमा इजाजत प्राप्त हतियारसमेत चुनौतीपूर्ण हुन सक्ने जनाउंदै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो । यसअघि पनि प्रशासनले हरेक निर्वाचनको समयमा लाइसेन्सप्राप्त हतियार बुझाउन भन्दै आग्रह गर्दैै आएको थियो ।

यसका साथै गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा लुटिएका सुरक्षाकर्मीका हतियार फिर्ताका लागि प्रहरीले काम गरिहरेको बताएको छ । गृहमन्त्रालयले माघ महिनाभित्र सबैजसो हतियार फिर्ता ल्याउने प्रयास भइरहेको बताएका थिए ।












































