डा. भट्टराइको दलका तामाङले लिए उम्मेदवारी फिर्ता
बिदुर- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । नुवाकोटमा ३० जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । विभिन्न उम्मेदवारहरुले तीन दिन अगाडि उम्मेदवारी दर्ता गरेकोमा नामावली फिर्ता लिने दिन शुक्रवार नुवाकोट २ वाट एक जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारहरुमध्ये पुर्वमन्त्रि तथा पुर्व सांसदहरुसमेत रहेका छन् । नुवाकोटको क्षेत्र नं. १ मा १८ र क्षेत्र नं. २ मा १२ जना उम्मेदवारी कायम भएको हो । मंगलवार ३१ जनाको उम्मेदवारी दर्ता भएकोमा शुक्रवार नुवाकोट २ वाट प्रगतीशील लोकतान्त्रिक पार्टीका रजमान तामाङले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुर नुवाकोटले जनाएको छ ।

उनको दलको नेतृत्व डा. वावुराम भट्टराइले गरिरहेका छन् । उम्मेदवार रहेकाहरुमा चार जना पुर्वमन्त्रि रहेका छन् । एक जना संविधान सभा सदस्य र एक जना पुर्व वागमति प्रदेश सभा सदस्य चतुनावी मैदानमा रहेका छन् ।

नुवाकोट १ वाट १३ वटा विभिन्न दलहरु तथा पांच जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा भिडेका छन् । एक जनाले फिर्ता लिएपछि नुवाकोट २ वाट १२ जनाको उम्मेदवारी कायम भएको सहायक निर्वाचन अधिकृत सुशीलकुमार यादवले जानकारी दिए । अव नुवाकोटका दुई वटा निर्वाचन क्षेत्रमा गरि ३० जनाको उम्मेदवारी कायम भएको छ ।

उम्मेदवारमध्ये एक जना मात्र महिला रहेका छन् । क्षेत्र नं. १ वाट पुर्वमन्त्रिहरु नेपाली कांग्रेसवाट डा. प्रकाशशरण महत, नेकपा एमालेवाट बद्री मैनाली, नेकपावाट हितवहादुर तामाङ, क्षेत्र नं. २ वाट केशवराज पाण्डे चुनावी मैदानमा रहेका छन् । नुवाकोट २ मा कांग्रेसका जगदीश्वरनरसिंह केसी संविधान सभा सदस्य र नेकपाका हिरानाथ खतिवडा पुर्व वागमति प्रदेश सभा सदस्य हुन् ।

उम्मेदवार ३० मध्ये एकजना स्वतन्त्र उम्मेदवार चेपे तामाङ मात्र महिला उम्मेदवार रहेकी छन् । अन्य सवै पुरुष उम्मेदवार रहेका छन् । उम्मेदवारहरुमा नुवाकोट १ कांग्रेसवाट डा. प्रकाशशरण महत, नेकपा एमालेवाट वद्री मैनाली, नेकपावाट हितवहादुर तामाङ, रास्वपावाट विक्रम तिमिल्सिना, राप्रपाका विमल थापा, मितेरी पार्टी नेपालका विवेक सिलवाल, नेमकिपाका रविन्द्र डंगोल, प्रगतीशील लोकतान्त्रिक पार्टीका राजन गौतम, नेकपा माओवादीका महेन्द्र तामाङ, मंगोल नेशनल अर्गनाइजेसनका कुमार रानामगर, श्रम संस्कृति पार्टीका दावावेन्जो लामा, उन्जालो नेपाल पार्टीका अमित तामाङ, जसपा नेपालका होमवहादुर राई चुनावी मैदानमा रहेका छन् ।

सोही क्षेत्रमा रामेश्वर भण्डारी, चेपे तामाङ, सन्जिव गुरुङ, राजु थापा र माधव थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नुवाकोट २ का उम्मेदवारहरुमा कांग्रेसवाट जगदीश्वरनरसिंह केसी, नेकपा एमालेवाट केशवराज पाण्डे, नेकपावाट हिरानाथ खतिवडा, रास्वपावाट अच्युतम लामिछाने, राप्रपाका झनकवहादुर प्याकुरेल, मंगोल नेशनल अर्गनाइजेसनका रेन्छेन तामाङ, नेकपा संयुक्तका किरण तिमिल्सिना, नेकपा माओवादीका नवराज ढुंगाना, श्रम संस्कृति पार्टीका विनोदकुमार तामाङ, उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घले, नेमकिपाका सुवास भट्ट र आम जनता पार्टीका मानसिं गदाइली रहेका छन् ।





















































