तीन पत्रकार पुरस्कृत

– शिवपुरी पर्यटकिय गन्तव्य वन्दै
लोकखबर
२०८२ माघ २१, बुधबार ००:०८

बिदुर– पर्यटकिय गन्तव्य वन्दै गइरहेको नुवाकोटको शिवपुरीमा तीन पत्रकार पुरस्कृत भएका छन् । गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।  सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मरणमा स्थापना गरिएको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ र ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो ।

यस वर्षको गोविन्द वियोगी पत्रकारिताबाट रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपाललाई प्रदान गरिएको छ ।  पुरस्कारको साथमा २५ हजार रुपैयाँ नगद र सम्मानपत्र रहेको छ । डा. नेपालले पत्रकारिता शिक्षण र अनुसन्धानमार्फत नेपाली पत्रकारिताको स्तर उकास्न गरेको योगदानको मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ ।

वियोगीको २०औँ स्मृति दिवसको अवसरमा शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा आयोजित कार्यक्रममा पुर्व राष्ट्रपति डा. रामवरण यादवले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।  गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०८२ गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल र शुक्रवाःया तँसापौ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गरिएको हो । यस पुरस्कारसँगै प्रत्येकमा १५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ ।

चाँदनी हमालले पत्रकारितामा महिला दृष्टिकोण र सामाजिक न्यायका विषयमा निरन्तर अनुसन्धान र रिपोर्टिङ गर्दै आएको भन्दै उनको योगदानलाई विशेष मूल्यांकन गरिएको छ । राजेन्द्र मानन्धरको स्तम्भ लेखनले जनचेतना अभिवृद्घि गर्न र स्थानीय सामाजिक विषयवस्तुलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको कारण पुरस्कृत गरिएको समाजका अध्यक्ष पुरु रिसालले बताए । पूर्वराष्ट्रपति डा. रामवरण यादवले समारोहमा लोकतन्त्रलाई सुदृढ बनाउने पत्रकारिताको महत्वमा प्रकाश पार्दै, वियोगीले लोकतन्त्र स्थापनामा पत्रकारितामार्फत खेलेको योगदान विशेष उल्लेखनीय रहेको स्मरण गरे ।
उनले अहिले पनि पत्रकारिताले जनताको सुचनाको हक र तथ्यपरक समाचार र आवाजलाई सशक्त बनाउन ठूलो भूमिका खेलिरहेको बताए । कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले सम्पादक समाजसँगको सहकार्यले क्षेत्रको पर्यटन प्रवद्र्घनमा समेत योगदान पुगेको बताएका थिए । उनले विगतमा वार्षिक करिब २५/३० हजार पर्यटक आउने गरेको शिवपुरीमा, पत्रकारितामार्फत समाचार र प्रचार–प्रसार भएको कारण हाल वर्षमा एक लाखभन्दा बढी पर्यटक भित्रिन थालेको खुसी हुदै वताए ।


सर्वाधिक रुचाइएको