चलचित्रकर्मीलाई घोडचढी सीप

– कलाकारहरु सहभागी
लोकखवर मनोरन्जन संवाददाता
२०८२ माघ २७, मंगलवार २०:५४

बिदुर– चलचित्रकर्मीहरुको सिप विकासका लागि पहिलो पटक घोडचढी प्रशिक्षण सन्चालन गरिएको छ । कलाकारहरु उक्त तालिममा सहभागी रहेका छन् ।

चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सन्चालन गरेको हो । ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक चलचित्र निर्माणमा घोडचढीलाई अत्यावश्यक सीपका रूपमा लिइँदै आएको वर्तमान सन्दर्भमा, कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित तथा व्यावसायिक बनाउने लक्ष्यसहित चलचित्र विकास बोर्डको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ ।

उनका अनुसार उक्त विशेष तालिममा चलचित्र क्षेत्रका चर्चित तथा अनुभवी कलाकारहरूले उत्साहपुर्वक सहभागिता जनाएका छन् । घोडचढी तालिममा विजय बराल, नाजिर हुसेन, कविता नेपाली, विशाल पहाडी, एवन उप्रेती, दिनेश खड्का, सरिता भारती, अरुणबहादुर स्याङ्तान (लामा), श्रीदेव भट्टराई, गोपाल ढकाल (छन्दे) लगायतका चलचित्रकर्मीहरूको सहभागिता रहेको छ ।

घोडचढी तालिमान प्रशिक्षक सुरेश ठकुरी तथा उनको समूहद्धारा प्रदान गरिएको छ । तालिममा सहभागी चलचित्रकर्मीहरूलाई घोडासँगको तालमेल, व्यावहारिक अभ्यास, सुरक्षा मापदण्ड सहित आवश्यक आधारभूत सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

बोर्डले उक्त किसिमका विशेष सीपमूलक तालिम कार्यक्रममार्फत नेपाली चलचित्र उद्योगको उत्पादन गुणस्तर अभिवृद्धि हुनुका साथै कलाकार तथा प्राविधिकहरूको सुरक्षा, व्यावसायिकता र आत्मनिर्भरता वृद्धि हुने विश्वास व्यक्त गरेको छ । साथै चलचित्र विकास बोर्डले केहि दिनमा पर्दा अगाडिका कलाकारहरूलाई पौडी तालिम पनि सञ्चालन गर्ने तयारी गरेको छ ।


सर्वाधिक रुचाइएको