मतदातासंग एमालेको उम्मेदवार कार्यक्रम
बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिदै जांदा नेकपा एमाले नुवाकोटले “मतदातासँग उम्मेदवार” कार्यक्रम सन्चालन गरेको छ । मतदातासंग विचार राख्दै एमालेका उम्मेदवारसहितका नेता, कार्यकर्ता जनतामाझ पुगिरहेका छन् । नेकपा (एमाले) नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको आयोजनामा “मतदातासँग उम्मेदवार”साक्षात्कार तथा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

मतदाताहरुले एमाले उम्मेदवारसंग निर्भिकतापुर्वक भावी योजनासंग सम्वन्धित विषयमा साक्षात्कार गरेका हुन् । उक्त कार्यक्रमको एमाले नेता ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् । उनले एमालेले देश परिवर्तनका लागि महत्वपुर्ण संघर्षहरु पार गरेको र जनपक्षिय पार्टी रहेको वताए ।

उनले जनताको लागि एमालेले विभिन्न जनआन्दोलन तथा राजनीतिक परिवर्तनहरुमा समावेश भएको वताए । जनताका लागि एमाले सुदृढ रहेको र एमालेको विशाल अभियान कसैले रोक्न नसक्ने वताए । उनले प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई जनताले प्रमुख शक्तिका रुपमा उभ्याउने दावी गरे ।

एमालेलाई अझ सुदृढ बनाउँदै जनताको विश्वास जित्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । पोखरेलले जनसरोकारका मुद्दालाई केन्द्रमा राखेर उम्मेदवार र मतदाताबीच प्रत्यक्ष संवाद हुनु लोकतान्त्रिक अभ्यासको सशक्त माध्यम भएको बताए । विकास, परिवर्तन र जनताको आवाज उठाउंदै एमाले पार्टी अहिलेको अवस्थामा आइपुगेको वताए ।

उक्त कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन २०८२ का एमालेवाट नुवाकोट १ का प्रत्यासी बद्री मैनाली र नुवाकोट २ का प्रत्यासी केशवराज पाण्डेसँग मतदाताले प्रत्यक्ष संवाद तथा अन्तरक्रिया गरेका हुन् । मतदाताहरूले विकास, सुशासन, रोजगारी, राजनीति र समसामयिक विषयमा प्रश्न राखेका थिए भने प्रत्यासीहरूले आआफ्ना धारणा र प्रतिबद्धता प्रस्तुत गरेका थिए । नुवाकोट स्थायी घर भई हाल काठमाडौँका विभिन्न स्थानमा विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका सिलसिलामा बसोबास गरिरहेका मतदाता, नागरिक, शुभचिन्तक तथा पार्टीका अगुवा कार्यकर्ताबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित “मतदातासँग उम्मेदवार” कार्यक्रम आयोजना गरिएको थियो ।

यसैवीच, जेनजी आन्दोलनमा नुवाकोटबाट प्रतिनिधित्व गरेका जेनजी पुस्ताका युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । उम्मेदवार रहेकै स्थानमा पुगेर जेनजी युवाहरूले एमालेमा औपचारिक रूपमा प्रवेश गरेको एमाले नुवाकोटका सचिवालय सदस्य दीपक कार्कीले जानकारी दिए ।

उनका अनुसार नेपालको इतिहासमा परिवर्तनको साक्षी रहेको पार्टी पुरानो वा नयाँ भन्नेभन्दा पनि काम गर्न सक्ने इच्छाशक्ति र स्पष्ट दृष्टिकोण भएका नेतामा नै वास्तविक नयाँपन खोज्नुपर्ने धारणा राख्दै आफूहरू एमाले प्रवेश गरेको ती युवाहरूले बताएका छन् । ति युवाहरु प्रतिनिधि सभाका लागि एमालेका उम्मेदवारहरुको प्रतिनिधित्व आवश्यक रहेको भन्दै एमालेमा प्रवेश गरेको कार्कीले वताए ।















































