सामुदायिक कुकुरहरुको वन्ध्याकरण अभियान
बिदुर– पशु तथा मानव स्वास्थ्य सुरक्षा प्रवद्र्धनको लक्ष्यसहित नुवाकोटको पुर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिकाले सन्चालन गरेको कुकुरहरुको वन्ध्याकरण अभियानुसहितको शिविर सम्पन्न भएको छ । घर पालुवा तथा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप कार्यक्रम सम्पन्न गरिएको हो ।

बेलकोटगढी नपाको आर्थिक विकास तथा पशु स्वास्थ्य शाखाको आयोजनामा वेलकोटगढी ५, ६, ७, १०, ११, १२ र १३ वडाहरुमा कुकुरहरुको बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप लगाउने कार्यक्रम सम्पन्न गरिएको पशु चिकित्सक अन्जु शर्मा चापागाइले जानकारी दिइन । उनका अनुसार अभियानका रुपमा सन्चालित उक्त कार्यमा हालसम्म दुईसय ३० वटा कुकुरहरुको बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप लगाउने कार्य सम्पन्न गरिएको छ ।

बन्ध्याकरण गरिएकामध्ये एकसय ५३ वटा भाले र ७७ वटा पोथी कुकुर रहेका छन् । लक्ष्य अनुसार घरपालुवा तथा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप लगाउने कार्य सम्पन्न गरिएको चापागाइले जानकारी दिइन ।

नपाको विभिन्न स्थानमा रहेका सामुदायिक कुकुरहरूलाई लक्ष्यित गरी स्थायी बन्ध्याकरण र रेबिज रोग विरुद्धको खोप लगाइएको मेयर जगतवहादुर गुरुङको भनाई छ । उनका अनुसार यसवाट आन्तरिक र बाह्य परजीवि विरुद्धको उपचार कार्यक्रम गरिएको र पशु तथा मानव स्वास्थ्य सुरक्षामा प्रभावकारीता वढेको छ ।

पशु स्वास्थ्य प्राविधिकहरु वडा/वडामा पुगेर सन्चालित सो कार्यक्रमले सामुदायिक कुकुरहरूको अस्वभाविक वृद्धि नियन्त्रण, रेबिज रोग न्यूनीकरण तथास्वास्थ्य सुरक्षामा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको छ । कुकुर पालक तथा सर्वसाधारण पनि स्वास्थ्य सुरक्षामा मद्धत पुगेको जनाउंदै खुसी भएका छन् ।




























































