शिवरात्रीमा दुप्चेश्वरलगायतका मन्दिरमा भीड

– शिवालयमहरुमा हजारौं श्रद्धालु
लोकखवर विशेष संवाददाता
२०८२ फाल्गुन ४, सोमबार ००:३३

बिदुर– महाशिवरात्रिका अवसरमा नुवाकोटको विभिन्न शिवालयहरुमा भक्तजनको ठुलो भीड लागेको छ । महाशिवरात्रिका अवसरमा आइतवार पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वरसहित विभिन्न शिवालय मन्दिरहरुमा निकै ठुलो भीड लागेको छ । दुप्चेश्वर, देवीघाटस्थित शिवधाम, चिम्टेश्वर, कपिलेश्वर, तारकेश्वर, रुद्रेश्वर, पान्चायन मन्दिरलगायत ३० भन्दा वढि स्थानमा रहेका देवालयहरुमा भक्तजनको ठुलो भीड लागेको छ ।

शिव मन्दिरहरुमा पुजाआजाका साथै शिवधुनी वालेर भजनकिर्तनका कार्य गरेका छन् । कतिपय स्थानमा शिव मन्दिर निर्माण गरिएका छन् । चिम्टेश्वर, पिपलटार, जिलिङलगायतका स्थानमा शिव मन्दिर निर्माण गरिएको छ ।

वेलकोटगढीको टाकुरोमा नवनिर्मित चिम्टेश्वरमा विशेष पुजाआजासहतिको मेला लागेको छ । उक्त स्थान धार्मिक पर्यटकिय स्थलको रुपमा विकसित भइरहेको मेयर जगतवहादुर गुरुङको भनाई छ । शिवधामहरुमा नुवाकोट, रसुवाका साथै धादिङ तथा काठमाडौ र भारतवाटसमेत तीर्थालुहरु पुगेका थिए ।

पहिलेको भन्दा शिवरात्रीका दिन दुप्चेश्वरमा भीड लागेको दुप्चेश्वर विकास कोषका राजकुमार श्रेष्ठले जानकारी दिए । दुप्चेश्वरमा भक्तजनहरुको सुविधाका लागि विशेष व्यवस्था गरिएको थियो । नुवाकोटका सवै शिव मन्दिरहरुमा आशुतोष भगवान् शिवको धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

विभिन्न स्थानमा महादेव मन्दिर निर्माण

नुवाकोटको पिपलटारमा महादेव मन्दिर निर्माण गरिएको छ । विदुर नगरपालिका–५ ठुलोगाउंमा निर्माण गरिएको सर्वेेश्वर महादेव मन्दिर विशेष पुजाआजासहित पुरोहितले उद्घाटन गरे । कार्यक्रमकाबीच   निर्मित सर्वेेश्वर महादेवको मन्दिर पुरोहितले उद्घाटन गरेका हुन् ।

नेपालको पहिचान, संस्कृति र परम्परा संरक्षणका लागि मन्दिर निर्माण गरिएको सर्वेेश्वर महादेव मन्दिर निर्माण समितिका अध्यक्ष उत्तम ढकालले वताए । उनले सर्वेेश्वर महादेव मन्दिर वागमति प्रदेश सरकारको १८ लाख रुपैयाको लागतमा निर्माण गरिएको बताए । अध्यक्ष ढकालले मन्दिरको अन्य संरचना निर्माणका लागि थप नौलाख रुपैया वजेट विनियोजन भएको वताए ।

नुवाकोटको तादी गाउँपालिका २ सतार मैदानम रालुका विध्यश्वर शिव मन्दिरको निर्माण गरिएको छ । मन्दिरको वागमति प्रदेश सभा सदस्य राधिका तामाङले उद्घाटन गरिन् । उनले नेपालको संस्कृति र परम्परा विश्व समुदायमै विशेष र पृथक रहेको वताइन् । मन्दिर उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सर्वसाधारणको उपस्थिती रहेको थियो ।

उता, वेलकोटगढी नगरपालिका ८ जिलिङ अदुवावारीमा शिव मन्दिर निर्माण गरिएको छ । उक्त शिव मन्दिरको वडाध्यक्ष सुरेशलाल चित्रकारले उद्घाटन गरे ।बेलकोटगढी नपा ८ बाट चालु आर्थिक वर्ष २०८२/०८३ लागि बिनियोजित एकला ७५ हजार रुपैया र अन्य स्थानविासीको लागत साझेदारीमा निर्माण गरिएको हो । उपभोक्ता समितिमार्फत शिव मन्दिर निर्माण गरिएको हो ।

यता, महाशिवरात्रीको अवसरमा विदुरकै रुद्रेश्वर महादेव मन्दिरमा पुजाआजासहित विशेष कार्यक्रम गरिएको छ । रुद्रेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरिएको हो ।

मन्दिर परिसरमा शिव धुनी जगाउने र शिवको पुजाआजा गरिएको स्थानीय युवा सामाजिक अगुवा रमेश श्रेष्ठले बताए । उनका अनुसार मन्दिरमा पुजाआजा, सरसफाईको साथै मन्दिर पनि सजावट गरिएको छ ।

यसका साथै शिवरात्रीकौ अवसरमा नुवाकोटका विभिन्न स्थानहरुमा सामूहिक धार्मिक कार्यक्रम गरिएका छन् । देवालय मन्दिरहरुमा शिवधुनी, धार्मिक भजन तथा नाचगानले माहौल विशेष वनेको थियो ।

 


सर्वाधिक रुचाइएको