वार्षिकोत्सवमा विद्यार्थीहरुलाई पुरस्कार
बिदुर– प्रविधिमैत्री शिक्षामा जोड दिदै अरुणिमा शिक्षा सदन माविको अभिभावक दिवस सम्पन्न भएको छ । उत्कृष्ट विद्यार्थीहरु सम्मानित भएका छन् । सो विद्यालयले विद्यार्थीहरूको विविध आर्कषक प्रस्तुतिसहित अभिभावक दिवस मनाएको हो । कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका बालबालिकाहरुले लोक तथा आधुनिक नृत्य, गायन, योग, तेक्वान्दो तथा चेतना–मूलक नाटक प्रस्तुत गरेका थिए ।

सोही अवसरमा क्रिकेटमा विशेष रुचि र क्षमता देखाएका उत्कृष्ट दुईजना विद्यार्थीहरु रायन खनाल तथा आयुभ भट्टराईलाई ‘आमोद समृति क्रिकेट पुरस्कार कोषमार्फत नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । सो पुरस्कार अरुणिमा शैक्षिक प्रतिष्ठान संञ्चालक समितिका सदस्य गोपालप्रसाद बराल र महेश पराजुलीले संयुक्त रुपमा स्थापना गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार त्रिलोचन आचार्यले अबको शिक्षा प्रणालीले परोपकारी, भविष्यप्रति आशावादी र विभेदरहीत समाज निर्माण गर्ने नागरिक तयार पार्नुपर्नेमा जोड दिए । प्रविधिमैत्री शिक्षा अवको वाटो भएको उनको जोड रहेको छ ।

कार्यक्रममा विद्यालयकी प्राचार्य शोभा खनालले विद्यालयको शैक्षिक उपलब्धि, प्रशासनिक व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप र विद्यालयले प्रदान गर्दै आएका सुविधाहरुसहित शैक्षिक गुणस्तरको रक्षा तथा शिक्षाको प्रभावकारिताका लागि आगामी योजनाबारे जानकारी गराइन् । अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुङ्गानाले प्रतिष्ठान विशुद्ध शैक्षिक गुठी भएकाले समय सापेक्ष गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको बताए । विद्यालयका अध्यक्ष डा. बाबुराम ढुङ्गानाले विद्यार्थीको भविष्य निर्माण र सर्वाङ्गीण विकासका लागि अभिभावक, विद्यार्थी र विद्यालयको त्रिकोणात्मक समन्वय अपरिहार्य रहेको बताए ।

शिक्षक अभिभावक संघका अध्यक्ष चेतबहादुर बस्नेतले विद्यालयले समयसापेक्ष प्रविधिमैत्री शिक्षालाई विशेष प्राथमिकतामा राख्नु पर्ने सुझाव दिए । कार्यक्रममा पूर्व प्रशासक तथा प्रतिष्ठानका सल्लाहकार जनकराज ढुङ्गाना, पूर्व शिक्षा सहसचिव एवम् प्रतिष्ठानका सल्लाहकार विश्वनाथं अर्याल, प्रतिष्ठानका सल्लाहकार प्रा.डा. रामचन्द्र भट्टराई, प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछाने, अरुणिमा क्याम्पस प्रमुख केशवप्रसाद जोशी, अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष तथा अरुणिमा शैक्षिक प्रतिष्ठान संचालक समितिका सदस्य शम्भूप्रसाद बडाल, प्रतिष्ठानका गुठियारहरुसहित विभिन्न क्षेत्रका शैक्षिक व्यक्तित्वहरूले शिक्षा प्रणाली र सुधारका सम्वन्धमा आआआफ्ना धारणा राखेका थिए ।













































