एकहजार सातसय वढि कर्मचारी मतदानमा

शिक्षकहरुसमेत परिचालन
लोकखवर विशेष संवाददाता
२०८२ फाल्गुन ६, बुधबार ००:०१

बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा एकहजार सात सय वढि कर्मचारी खटाइएको छ । शिक्षकहरुसमेत परिचालन गरिएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा यहि फागुन २१ गते विहीवारको प्रतिनिधिसभा निर्वाचनका लागि एकहजार सात सयभन्दा बढी कर्मचारी खटाइने भएको छ ।

एक मतदान केन्द्रमा ६ जना कर्मचारी खटाइएको छ । नुवाकोटका दुईसय ९३ मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र सहयोगीसहित ६ जना कर्मचारी रहने जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । एकसय ३६ मतदान स्थलमा दुईसय ९३ मतदान केन्द्र कायम रहेका छन् ।

नुवाकोटमा एकहजार सातसय ५८ जना कर्मचारी मतदानमा खटिनेछन् । उनीहरु तीन दिन अगाडि नै मतदानस्थलमा पुगिसक्नेछन् । पांचसय वढि मतदाता भएको केन्द्रमा मतदान अधिकृतले तीन जना स्वंसेवक, पांचसय कम मतदाता भएको केन्द्रमा दुई जना स्वंसेवक नियुक्त गरिने जिल्ला निर्वाचन अधिकारी होमवहादुर थापामगरले जानकारी दिए ।

उनका अनुसार नुवाकोटमा पांचसय कम मतदाता भएको केन्द्र एउटा मात्र रहेको छ । पहिलो चरणमा सरकारी कर्मचारीहरुलाई खटाइने तयारी रहेको छ । कर्मचारलिे मात्रै नपुग हुने भएका कारण विद्यालयका शिक्षक शिक्षिकाहरुलाई मतदानका लागि खटाउने तयारी भएको छ ।

यसपटकको निर्वाचनमा नुवाकोटमा दुईलाख ४७ हजार आठसय ६८ जना मतदाता रहेका छन् । जसमध्ये महिला एकलाख १८ हजार नौसय ७५, तीन जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहाडि संरचना रहेको नुवाकोटमा एकसय ३३ मतदानस्थल, दुईसय ९३ मतदान केन्द्र तथा एउटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिनिधिसभाको लागि दुईवटा निर्वाचन क्षेत्र रहेको नुवाकोटका प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, २ देखि ३ जना सहायक कर्मचारी, एक जना कार्यालय सहयोगी र २ देखि ३ जना स्वयंसेवक गरी बढीमा सातजना कर्मचारी खटाइने तयारी गरिएको छ । कार्यालयका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि निजामति कर्मचारीलाई प्राथमिकतामा राखिनेछ ।

त्यसपछि नेपाल सरकार स्वामित्वका संघसंस्थानका कर्मचारी र अपुग भएमा शिक्षक खटाइनेछन् । एकहजार सातसय बढी कर्मचारी र चारसय बढी स्वयंसेवक परिचालन गरिनेछ । स्वयंसेवकलाई सम्बन्धित मतदान केन्द्रमै पुगेर मतदान अधिकृतले नियुक्त गर्ने व्यवस्था गरिएको छ ।


सर्वाधिक रुचाइएको