वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण
बिदुर– नुवाकोटको देवीघाटमा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । आवस्यक औषधिका साथै पिउने पानीको लागि उपकरणसमेत प्रदान गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा विदुर नगरपालिका ५ स्थित देवीघाट ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति नुवाकोट, बिदुर नगरपालिका, त्रिशूली अस्पतालको आयोजनामा आश्रित ३८ जनासहित ४१ जना वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण गरि आवस्यक औषधि वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए । त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामासहितको स्वास्थ्य टोलीले वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण गरेको हो । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघले उक्त ज्येष्ठ नागरिक संरक्षण प्रतिष्ठानलाई एक थान पिउने पानीको उपकरणसमेत हस्तान्तरण गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीले स्थानीय समुदाय, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूले ज्येष्ठ नागरिक संरक्षण केन्द्रलाई अनुकरणीय कार्यका रूपमा लिएका वताए । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गरिएको उक्त कार्यले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सन्देश दिएको उनको भनाई छ । सोही कार्यक्रममा विदुर नपाका मेयर मेयर राजन श्रेष्ठले स्थानीय सरकार सामाजिक संस्थासँग सहकार्य गर्दै ज्येष्ठ नागरिकको जीवन सहज बनाउनेतर्फ प्रतिबद्ध रहेको बताए ।

उनले यस प्रकारका सहयोगले समाजमा सकारात्मक सन्देश प्रवद्र्धन हुने पनि वताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, विदुर नपाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जनस्वास्थ्य कायाृलय नुवाकोेटकी प्रमुख डा. अन्जु कार्की, त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामा, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठसहितलगायतले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाको प्रभावकारिताको सम्वन्धमा चर्चा गरेका थिए । देबीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिस्ठानमा हाल ३८ जना ज्येष्ठ नागरिक आश्रित छन् ।

























































