शिवधाममा वटुकहरुको सामूहिक व्रतवन्ध
बिदुर– नुवाकोटको देवीघाटमा रहेको शहिद जगत प्रकाशजंग शाह संस्कृत माविको आयश्रोत जुटाउने उद्धेश्यले विहीवार वटुकहरुको सामूहिक व्रतवन्ध
गरिएको छ । सोही विद्यालयको आयोजनामा विदुर नगरपालिका ५ देवीघाटस्थित प्रसिद्ध शिवधाममा आदीवासी जनजातीलगायत सवै समुदायका वटुकहरुको सामूहिक व्रतवन्ध गरिएको हो । नेपाली संस्कार अनुसार वटुकहरुको व्रतवन्ध वालक अवस्थामै गर्नु पर्ने भन्ने जनविस्वास रहदै आएको छ ।

देवीघाटमा विद्यालयको आयस्तर वृद्धि गरि विद्यार्थीहरुलाई गुणात्मक शिक्षा प्रदान गर्ने उद्धेश्यले सो विद्यालयले विगत २६ वर्षदेखि वटुकहरुको सामूहिक व्रतवन्ध गराउंदै आएको छ । शिवधाम परिसरमा मुख्य पुरोहित हरिप्रसाद सापकोटाले एकै दिन ५० जना वटुकहरुलाई सामुहिक रुपमा मन्त्रदान गराएका हुन् । विद्यालयले व्रतवन्ध गरेवापत आयश्रोतका लागी एक जना वटुकको संस्कृत विद्यालयले सातहजार रुपैया शुल्क लिएको छ ।

वटुकहरुसंग लिएको शुल्कवाट उनीहरुका लागि व्रतवन्धका सामग्रीहरु टोपी, धोती, गन्जी, ठुलो रुमाल प्रदान गरिएको छ । सामूहिक व्रतवन्धवाट बचेको रकमले विद्यालय सन्चालनार्थ खर्च गरिने विद्यालयले जनाएको छ । सो खर्चले विद्यालयमा आयश्रोत संकलन गरि विद्यालयको शिक्षा तथा व्यवस्थापनका लागी खर्च गरिने विद्यालयका प्रधानाध्यापक मन्जु चित्रकारले जानकारी दिइन् ।

उनका अनुसार सामूहिक व्रतवन्धमा नुवाकोट, रसुवा, धादिङ, गोरखा, काठमाडौका साथै देशका अन्य स्थानका व्राम्हण, क्षेत्रि, माझी, नेवार समुदायका बटुकहरुको व्रतवन्ध गरिएको हो । यस वर्ष सामूहिक व्रतवन्धमा ८ देखि २० वर्ष उमेर समूहका वटुकहरुको सामूहिक व्रतवन्ध गरिएको छ । सामूहिक व्रतवन्धवाट संकलित रकमले विद्यालयमा निजी श्रोतका शिक्षकहरुलाई पारिश्रमिक र गुरुकुल व्यवस्थापनमा खर्च गरिने विद्यालयका अध्यक्ष मानवहादुर डंगोलले जानकारी दिए ।

सो विद्यालयले गत २०५५ सालदेखि प्रत्येक वर्ष देवीघाटमा वटुकहरुको सामूहिक रुपमा वटुकहरुको व्रतवन्ध गराउंदै आएको छ । वर्षेनी वटुकहरुको सामूहिक व्रतवन्ध गर्ने आकर्षण वढ्दै गएको छ । २६ वर्षको अवधिमा हालसम्म तीन हजार पांचसय जना वटुकहरुको सामूहिक व्रतवन्ध गरिसकिएको विद्यालयले जनाएको छ ।नुवाकोटकै एक मात्र सस्कृत माध्यमवाट पठनपाठन भइरहेको सोे विद्यालयले आफ्नो आर्थिक श्रोत बृद्धि, शिक्षक तथा कर्मचारीको तलव तथा सस्कृतिको रक्षाको लागि हरेक वर्ष श्रीपञ्चमीको अबसरमा सामूहिक ब्रतबन्ध सञ्चालन गर्दै आएको विद्यालयका विद्यालयका संस्कृत संयोजक हरिप्रसाद अधिकारीले वताए ।

सो विद्यालयमा हाल सात सय १५ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ६ देखि १० सम्मका ५५ जना विद्यार्थीले आवासिय रुपमा संस्कृत मात्रै अध्ययन गर्दै आएका सो विद्यालयले टाढाका विद्यार्थीहरुलाई होस्टेलसमेत सन्चालन गरेको छ । सामूहिक व्रतवन्धवाट नौ क्विलटल १४ किलोग्राम चामल, मण्डप भेटी १० हजार पांचसय र वटुकहरुवाट तीनलाख ५० हजार रुपैया नगद संकलन भएको छ ।

विद्यालयमा ४० जना शिक्षक शिक्षिकाहरु कार्यरत रहेका छन् । सो विद्यालय नुवाकोटको संस्कृत अध्ययनअध्यापन भइरहेको एकमात्र विद्यालय हो । उक्त विद्यालयका विद्यार्थीहरु प्रत्येक दिन विहान र वेलुकी प्रसिद्ध जालपादेवी मन्दिरमा पुगेर विशेष रुपमा गंगाआरतीमा सहभागी हुने गरेका छन् ।





















































