वन डढेंलो नियन्त्रण सामग्रीहरु प्रदान
बिदुर– सुख्खा मौसम वढेसंगै नुवाकोटमा वन डढेलो नियन्त्रणको कार्य सुरु गरिएको छ । जसअन्तर्गत पहिलो चरणमा सुरक्षा निकायलाई आवस्यक सामग्रीहरु उपलव्ध गराइएको छ ।

डिभिजन वन कार्यालय नुवाकोटको आयोजनामा वनडढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि सचेतनासहित आगजनी नियन्त्रण सम्वन्धि उपकरण हस्तान्तरण गरिएको हो । प्रत्येक सुरक्षा निकायलाई आइतवार वनडढेलो नियन्त्रणका लागि आवस्यक विभिन्न औजारसमेत हस्तान्तरण गरिएको हो ।

वन डढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, शैन्य तालिम केन्द्र मैथली र वहादुर शेर गणलाई विभिन्न आठ प्रकारका सामग्रीहरु एकैपटक हस्तान्तरण गरिएको हो । ति सामग्रीहरु प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, डिभिजन वन प्रमुख प्रदीपनाथ शर्मालगायतले हस्तान्तरण गरेका हुन् ।
प्रजिअ रेग्मीले सुख्खा मौसममा आगजनी नियन्त्रणका लागि सुरक्षा निकायले प्राप्त गरेको सामग्रीहरुको उचित सदुपयोग गरि प्रभावकारी कार्य गर्न निर्देशन दिए । उनले आगजनी नियन्त्रणका लागि प्रभावकारी कार्य गर्नसमेत सरोकारवाला निकायलाई आग्रह गरे ।

सुरक्षा निकायहरुलाई हस्तान्तरण गरिएका सामग्रीहरुमा फायर रेक १० थान, स्वाटर १० थान, फायर हेल्मेट १० थान, ग्लोभ्स १० थान, व्याक प्याक/जेट सुटर, जम्प सुट र टर्च लाइट एक÷एक थान रहेका छन् । ति सामग्रीहर वन डढेलो नियन्त्रणका लागि मुख्य रुपमा प्रयोग हुदै आएका छन् ।





















































