जनताले साथ दिएको एमाले उम्मेदवारहरुको भनाई

– राष्ट्रियताको पक्षमा सदैव क्रियाशील रहने
लोकखवर राजनीतिक व्युरो
२०८२ फाल्गुन १६, शनिबार ०२:११

बिदुर– प्रतिनिधि सभा सदस्यको निर्वाचनको समय नजिकिदै गर्दा उम्मेदवारहरु नुवाकोटमा मतदातामाझ पुगिरहेका छन् । सोही अभियानअन्र्तगत नुवाकोटका नेकपा एमालेका उम्मेदवारहरुले पत्रकार सम्मेलन गरि आफुप्रति रहेको जनताको धारणा सार्वजनिक गरेका छन् । लिखु गापा १ ढिकुरेमा नुवाकोट १ का उम्मेदवार बद्री मैनाली र विदुर नपा ४ वट्टारमा नुवाकोट २ का उम्मेदवार केशवराज पाण्डेले शुक्रवार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरि जनतासंग आफुहरुका तर्फवाट भएका गतिविधिहरु सार्वजनिक गरेका छन् ।

दुवै जनाले एमाले दुवै क्षेत्रमा वलियो शक्ति रहेकोसमेत वताए । मनोनयन दर्तादेखिको वितेको डेढ महिनामा जनतामाझ पुग्दा सकारात्मक, राष्ट्रियता र विकासको पक्षमा जनताको आवाज पाइएको दुवै जनाले पत्रकार सम्मेलनमा वताए । जनताले दिएको साथ, समर्थन र प्रतिक्रियाले आफुहरु उत्साहित भएको उम्मेदवारद्वय मैनाली र पाण्डेले वताएका छन् ।

उम्मेदवार मैनालीले स्वास्थ्य क्षेत्रलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले “मेरो प्रतिबद्धता” शीर्षकसहित सार्वजनिक गरेको सन्देशमा सबैका लागि निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने वाचा गरेका हुन् । मैनालीले पर्यटन क्षेत्रलाई समृद्धिको प्रमुख आधारका रूपमा अघि सार्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

“पर्यटन” शीर्षकअन्तर्गत उनले नुवाकोटलाई आकर्षक तथा व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना प्रस्तुत गरेका हुन् । मैनालीले डिजिटल प्लेटफर्ममार्फत ककनी–दुप्चेश्वर–गोसाइँकुण्ड तथा सुन्दरीजल–गोल्फुभञ्ज्याङ पदमार्गसहितका प्राकृतिक र सांस्कृतिक स्थलहरूको प्रवद्र्धन गरिने बताएका छन् । धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्दै दिगो पर्यटन विकासमा जोड दिइने उनको भनाई छ । त्यस्तै, होमस्टे प्रवद्र्धनमार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना गरी ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने योजना समेत अघि सारिएको छ ।

सुर्यचौर, ककनी, घ्याङ्स्वाँरा, बाघमारा र रानीडाँडा लगायतका क्षेत्रको पर्यटन पूर्वाधार विकासमा विशेष पहल गरिने उनले उल्लेख गरेका छन् । पत्रकार सम्मेलनमा उम्मेदवार मैनालीले नुवाकोटका गाउँ–बस्तीमा बाँदर, बदेल, भालुलगायत जंगली जनावरका कारण किसानले वर्षौँदेखि बाली जोगाउन संघर्ष गरिरहेको उल्लेख गर्दै उनले अब यसको दीर्घकालीन समाधान खोजिने बताए । किसानको पसिनाबाट फलिएको अन्न जोगाउन नीतिगत, प्राविधिक र संरचनागत उपाय अवलम्बन गरिने उनको प्रतिबद्धता छ, “किसान रोइरहँदा म चुप लागेर बस्न सक्दिनँ,” उनले भने ।

युवा पुस्ताको बढ्दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै मैनालीले स्थानीय स्रोत र साधनको अधिकतम उपयोगमार्फत रोजगारी सिर्जना गर्ने स्पष्ट योजना अघि सारेको बताए । सीप विकास, कृषि–आधारित उद्योग, साना तथा मझौला उद्यम प्रवद्र्धन र पर्यटन विस्तारमार्फत युवालाई आफ्नै गाउँमा अवसर दिने उनको लक्ष्य छ । “रोजगारीका लागि विदेशिन बाध्य हुने अवस्थाको अन्त्य गरिनेछ,” उनले विश्वास दिलाए ।

उनले लिखु, तादी र सिन्धुरे खोलामा तटबन्धन गरी कृत्रिम ताल निर्माण, क्षेत्रभित्र कम्तिमा तीन वटा ‘स्याटलाइट ग्रामीण सहर’ अवधारणा कार्यान्वयन, प्याराग्लाइडिङसहित पर्यटन हब विकास, दुप्चेश्वरदेखि गोसाइँकुण्डसम्म केबलकार र पदमार्ग तथा काठमाडौँ–नुवाकोट जोड्ने टोखा–छहरे सुरुङमार्गजस्ता महत्वाकांक्षी योजना अघि सारेका छन् । यी योजनाबाट नुवाकोटलाई आर्थिक, सामाजिक र पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उनको दीर्घकालीन सोच छ ।

कृत्रिम ताल निर्माणले खेतीयोग्य जमिन मासिने भ्रम फैलाइएको भन्दै उनले एक इन्च जमिनसमेत नोक्सान नहुने, बरु थप सुरक्षित र व्यवस्थित हुने दाबी गरे। सबै योजना सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडेलमा सम्भाव्यता अध्ययनपछि मात्रै अघि बढाइने उनले स्पष्ट पारे। पर्यटन प्रवद्र्धनमार्फत नुवाकोटको आर्थिक गतिविधि विस्तार गर्दै जिल्लालाई समृद्धिको नयाँ बाटोमा अघि बढाउने आफ्नो लक्ष्य रहेको मैनालीले बताए । मैनालीले आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको सार्वभौमिक पहुँच सुनिश्चित गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्ने, मातृ–शिशु स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने र निःशुल्क औषधि आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधार नै आफ्नो प्राथमिकता भएको उल्लेख गर्दै उनले राज्यले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन् । स्थानीय तहदेखि केन्द्रसम्म समन्वय गरेर स्वास्थ्य पूर्वाधार सुदृढ बनाउने र ग्रामीण भेगसम्म सेवा विस्तार गर्ने योजना समेत अघि सारेका छन् । आगामी निर्वाचनलाई लक्ष्यित गर्दै मैनालीले मतदातासँग स्वास्थ्य क्षेत्रमा सुधारका लागि सहयोग र समर्थनको अपिल गरेका छन् ।

उम्मेदवार मैनालीले चुनावी अभियान अन्तर्गत आफ्नो योजना तथा प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले विकासको स्पष्ट खाका, दीर्घकालीन योजना, समृद्ध नुवाकोट निर्माणको लक्ष्य तथा आम नागरिकप्रतिको जिम्मेवारीबारे धारणा राखे ।

मतदाताको आफुलाई सकारात्मक साथ दिएका छन्ः उम्मेदवार पाण्डे 

एमालेले नुवाकोटका दुवै क्षेत्रमा आफ्ना उम्मेदवारको जित सुनिश्चित रहेको दाबी गरेको छ । बट्टारमा आयोजित पत्रकार सम्मेलनमा नुवाकोट २ का उम्मेदवार केशवराज पाण्डेले आफ्नो क्षेत्रका मतदाताले आफुलाई सकारात्मक साथ दिएको वताए । उनले यस अवधिमा मतदाताको सुझाव, गुनासो र अपेक्षा समेट्दै सकारात्मक परिवर्तनको अठोटसमेत व्यक्त गरेका छन् ।

‘नुवाकोट बनाउने शक्ति एमाले नै निश्चित’ भएको मतदाताको भावना रहेको पाण्डेले वताए । विगतमा एमालेमार्फत नुवाकोटको शिक्षा, स्वास्थय, पर्यटन, विकास र परिवर्तनका पक्षमा धेरै कार्यहरु भएको स्मरण गर्दै उम्मेदवार पाण्डेले राष्ट्रियता, सार्वभौमिकता र स्वाधिनताका लागि एमालेलाई जनताले मत दिने विस्वास व्यक्त गरेका छन् । विदुर नपामा घण्टाघर, गगटे पार्क, पिपलटार रंगशाला र त्रिशूली अस्पताल स्तरोन्नतीलगायत थुप्रै कार्य आफ्नो पहलमा भएको उनले वताए ।

नुवाकोटमा विद्यार्थी, युवाहरूले संगठन निर्माण र निरन्तर जनसेवामा सक्रिय रहेका कारण जनताले एमालेलाई साथ दिने पनि वताए । उनले नुवाकोटको विकास र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताए । जनताको भावना वुझ्दै पाण्डेले घरदैलो अभियान तीव्र पारेका छन् । सुशासन र स्थायित्व, पूर्वाधार विकास, कृषि तथा ग्रामीण अर्थतन्त्र, रोजगारी र उद्यमशीलता, शिक्षा–स्वास्थ्य, पर्यटन, युवा तथा खेलकुद, वातावरण तथा विपद् व्यवस्थापन र सामाजिक न्यायका क्षेत्रमा ठोस काम गर्ने आफ्नो योजना रहेको पाण्डेले बताए ।

आफ्नो भिजन, विकासप्रतिको दृढ इच्छाशक्ति र स्पष्ट कार्यदिशाका कारण युवा, विद्यार्थी तथा विभिन्न दलका जनप्रतिनिधि र समर्थक एमालेमा प्रवेश गरिरहेको पनि उनले बताए । आफु वागमति प्रदेश सभामा रहँदा जनताका पक्षमा सयौँ योजना अघि बढाएको अनुभव स्मरण गर्दै पाण्डेले यसपटक प्रत्यक्षतर्फ विजयी भई संघीय संसदमा पुगेर नुवाकोट–२ को आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाए । पत्रकार सम्मेलनमा पुर्वमन्त्रि तथा पुर्व राजदुत महेन्द्रवहादुर पाण्डे, एमाले केन्द्रीय सदस्य विन्दा ढुंगाना, एमाले पुर्व जिल्ला उपाध्यक्ष वुद्धिवहादुर प्रधान, जिल्ला सचिव शिवकुमार चित्रकार, एमाले विदुर नगर कमिटिका अध्यक्ष सन्जिववहादुर श्रेष्ठ, पुर्व नगर कमिटि अध्यक्ष अनुजकुमार श्रेष्ठलगायतले एमाले जनपक्षिय पार्टी भएको वताए ।

 


सर्वाधिक रुचाइएको