दुर्घटनामा घाइते युवकको निधन
बिदुर – नुवाकोटको बिदुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका एक जना युवकको ज्यान गएको छ । अस्पतालमा उपचारका क्रममा फुटवल खेलाडि युवकको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बिदुर नगरपालिका ९ का ३४ वर्षिय नबराज श्रेष्ठको उपचारका क्रमामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
त्रिदेशिय सडकमार्ग गल्छी–देवीघाट–रसुवागढी सडक खण्डअन्र्तगत बट्टार–विदुर सडकखण्डमा यहि फागुन १४ गते विहीवार राती बिदुर नपा ४ विदुरस्थित खोल्सामा श्रेष्ठ आफैंले हाकेको बा७४प ४३५८ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुंदा गम्भीर घाइते भएकोमा काठमाडौंको न्युरो अस्पतालमा उपचारका क्रममा दुई दिनपछि निधन भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा श्रेष्ठको टाउमा चोट लागेर त्रिशूली जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरि न्युरो अस्पताल काठमाडौ रिफर गरिएको थियो । भेन्टिलेटरमा श्रेष्ठको उपचार भइरहेकोमा शनिवार राती उनको निधन भएको डिएसपि लामाले जानकारी दिए ।

मृतक श्रेष्ठ नुवाकोटको त्रिशूली अस्पतालमा सुरक्षा गार्डमा कार्यरत थिए । अस्पतालले आइतवार विज्ञप्ति निकालेर निडर सुरक्षा कर्मचारी नमराज श्रेष्ठको असामयिक मृत्युले अस्पताल परिवारलाई स्तब्ध बनाउनुका साथै अस्पतालको सेवा र कार्यमा उनको योगदान सधैं स्मरणीय रहने जनाएको छ ।
मृतक युवक फुटवल खेलाडिसमेत हुन् । उनको निधनले खेल क्षेत्रले एउटा प्रतिभावान, सम्भावनायुक्त र मेहनती खेलाडि गुमाएको नुवाकोट खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जनाए ।












































