सातौं दुप्चेश्वर कप भविवल प्रतियोगिता
बिदुर – नुवाकोटको उत्तरपुुर्वी भेगमा रहेको दुप्चेश्वरमा सातौँ ‘दुप्चेश्वर कप’ खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका खेलाडिहरुको सहभागिता रहने आयोजक दुप्चेश्वर गाउँपालिकाले जनाएको छ । प्रसिद्ध दुप्चेश्वर धामको प्रवद्र्धन तथा खेलाडिहरुको उत्थानका लागि सातौँ संस्करणको ‘दुप्चेश्वर कप’ राष्ट्रिव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने दुप्चेश्वर गापाले घोषणा गरेको छ ।

सो गापाले पत्रकार सम्मेलनमार्फत आइतवार उक्त प्रतियोगिताको तयारी सुरु भएको जानकारी दिएको छ । उक्त प्रतियोगिता आगामी २०८३ साल वैशाख २ देखि ५ गतेसम्म दुप्चेश्वर धाम परिसरमा सञ्चालन हुने गापा अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिए । उनका अनुसार खेलकुदमार्फत खेल पर्यटनका साथै सामाजिक सद्भाव, धार्मिक तथा सामाजिक सहिष्णुता र युवामा खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
पुरस्कारतर्फ प्रथम हुने भलिवल टोलीले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने भलिवल टोलीले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ, तृतीय हुने भलिवल टोलीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र सान्त्वना स्थान हुने भलिवल टोलीले नगद ५५ हजार ५ सय ५५ रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक दुप्चेश्वर गापाले जनाएको छ । साथै सर्वोत्कृष्ट खेलाडीलाई ११ हजार एकसय ११, बेस्ट स्पाइकर, वेष्ट सेटर, बेस्ट डिफेन्डर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट कोचलाईसमेत समान ५ हजार पांचसय ५५ रुपैया पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिता दुप्चेश्वर–६ स्थित दुप्चेश्वर धाम परिसरमा हुने तय भएको छ । प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क स्वरुप पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । यहि चैत २७ गतेभित्र अनिवार्य रूपमा टिम दर्ता गराइसक्नुपर्ने व्यवस्था गरिएको दुप्चेशवर गापाका प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीले जानकारी दिए ।
उक्त भलिवल प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीमा व्यवस्थापक/कोचसहित न्यूनतम १२ जना खेलाडी अनिवार्य गरिएको छ भने खेलाडी सम्बन्धित स्थानीय तहको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ ।
साथै खेलाडीले नागरिकताको प्रतिलिपि र फोटोसमेत अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरिएको छ । गाउँपालिकाले प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण टोलीलाई अनिवार्य आफ्नो टिमको जर्सीसहित आमन्त्रण गरेको छ । थप जानकारीका लागि दुप्चेश्वर गापा, सामाजिक विकास समितिमा सम्पर्क गर्न सकिने जनाएको छ ।











































