आमा समूहहरुलाई आर्थिक सहयोग

– अध्यक्ष अधिकारीद्वारा हस्तान्तरण
लोकखबर
२०८२ चैत्र १८, बुधबार ०१:१०

बिदुर – नुवाकोटको कल्लेरीडांडाका आमा समूहहरुको सशक्तिकरणका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । तारकेश्वर गाउंपालिकाले महिला स्वावलम्बन, महिला साक्षात्कार, महिला सशक्तिकरण तथा जीविकोपार्जन अभियान अन्र्तगत उक्त सहयोग गरेको हो । तारकेश्वर गापा ५ मा क्रियाशील पाँचवटा आमा समूहहरूलाई महिला अभियान अन्तर्गत चारलाख रुपैया सहयोग हस्तान्तरण गरिएको हो ।

सामाजिक क्षेत्रमा सक्रिय रहेका पाँचवटा आमा समूहहरूलाई महिला स्वावलम्बन, महिला साक्षात्कार, महिला सशक्तिकरण तथा जीविकोपार्जन अभियान सहयोग रकम वरावरको चेक गापा अध्यक्ष शिव अधिकारी अविरलले हस्तान्तरण गरेका हुन् । यसका साथै कलेरीडाँडामा सीप सिकाइ केन्द्रकोसमेत उद्घाटन गरिएको छ । तारकेश्वर ५ स्थित कलेरीडाँडामा निर्माण सम्पन्न भएको गाउँपालिका स्तरीय सीप सिकाई केन्द्रको उद्घाटन गरिएको हो ।

यस अघि तल्लो भेगका तीनवटा वडालाई लक्षित गरी तारकेश्वरर ४ को बुधसिंहमा निर्माण गरिएको सीप सिकाइ केन्द्र उद्घाटन भई सञ्चालनमा आइसकेको छ । उक्त कार्यक्रममा गापा अध्यक्ष अधिकारीले सबै महिलाहरू एकआपसमा मिलेर नेतृत्व विकास, सीप विकास र क्षमता अभिवृद्धि गर्दै स्वावलम्बन र आत्मनिर्भरताको बाटोमा अगाडि बढ्नुपर्ने बताए । गाउँपालिकाले सीप विकास र स्वावलम्बनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको स्मरण गर्दै अध्यक्ष अधिकारीले माथिल्लो भेगका तीनवटा वडालाई लक्ष्यित गरी कल्लेरीडाँडामा सीप सिकाइ केन्द्र निर्माण गरिएको बताए ।

उनले महिलाहरूले आपसी सहकार्य र एकतामा जोड दिँदै नेतृत्व विकास, सीप विकास र क्षमता अभिवृद्धि मार्फत आत्मनिर्भर हुनुुपर्नेमा जोड दिए । महिला समूहसहित सामाजिक क्षेत्रमा सक्रिय रहेका तथा पछाडि परेका समूहलाई तारकेशवर गापाले निरन्तर रूपमा सीप विकास र स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्दै आइरहेको अध्यक्ष अधिकारीको भनाई छ । तारकेश्वर नुवाकोटको पर्यटकिय गापा हो ।


सर्वाधिक रुचाइएको