त्रिशूली अस्पतालका उत्कृष्ट कर्मचारी तथा बिभाग पुरस्कृत
बिदुर – ६ दशक पुरानो नुवाकोटको त्रिशूली अस्पताल उत्कृष्ट कर्मचारी तथा विभागलाई पुरस्कृत गरेको छ । कार्यसम्पादनका आधारमा अस्पतालका कर्मचारी तथा विभागलाई नगदसहित पुरस्कृत गरिएको हो । अस्पतालमा आयोजित मासिक तथ्याङ्क सङ्कलन भेरिफिकेसन, प्रस्तुतीकरण तथा मासिक उत्कृष्ट विभाग एवं कर्मचारी घोषणा र पुरस्कृत कार्यक्रममा बिभिन्न आधार तथा सूचकहरुमा छनौट गरि पांच जना कर्मचारी र एक विभागलाई पुरस्कृत गरिएको हो ।

चार महिनाको मुल्यांकन गरि अस्पतालले एकैपटक पुरस्कृत गरेको हो । कार्यगत मुल्यांकन अनुसार मंसिरमा कार्यालय सहयोगी प्रेममाया तामाङ, पुसमा हेल्थ असिष्टेण्ट स्वस्तिका तामाङ, माघमा मेडिकल अधिकृत डा. अशिष आलेमगर, फागुनमा डा. उशाद श्रेष्ठलाई पुरस्कृत गरिएको हो । उत्कृष्ट विभागतर्फ एकद्वार संकट वयवस्थापन केन्द्रकी प्रेरणा तामाङ पुरस्कृत भइन् ।

उत्कृष्ट मासिक कर्मचारीहरुले जनही नगद पांच/पांच हजार र उत्कृष्ट विभागले नगद दुई हजार रुपैयासहित ट्रफि पुरस्कार प्राप्त गरे । कार्यक्रममा प्रमुख अतिथी बिदुर नगरपालिका ६ वडाध्यक्ष श्यामकृष्ण चालिसे, त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी, अस्पताल प्रमुख डा. राजेन्द्र लामालगायतले उत्कृष्ट कर्मचारी तथा विभागलाई पुरस्कृत गरे । प्रमुख अतिथी चालिसेले नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका सर्वसाधारणको उपचार गर्दै आइरहेको त्रिशूली अस्पतालले आधुनिक उपकरण, दक्ष जनशक्ति तथा प्रभावकारी सेवा गरेर विरामीहरुको गन्तव्य अस्पतालको रुपमा आफुलार्य उभ्याएको बताए ।

उनले प्रभावकारी स्वास्थय सेवाको निरन्तरता आवस्यक रहेकोसमेत बताए । कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले अस्पताललाई स्वास्थ्य उपचार सुनिश्चितताको थलोको रुपमा कायम गरिएको वताए । अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले अस्पतालमा उपलव्ध श्रोत, साधन, उपकरण तथा जनशक्तिका माध्यमवाट विरामीहरुलाई प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेको वताए ।





















































