गृहमन्त्रालयको मुल्यांकनमा नुवाकोट दोश्रो
बिदुर – गृह मन्त्रालयको दोश्रो त्रैमासिक कार्यसम्पादन मूल्यांकनमा नुवाकोट दोश्रा भएको छ । कार्यसम्पादन, सेवा प्रवाह र सुशासनको सूचकहरुमा नुवाकोट समग्रमा दोश्रो भएको हो । चालु आवको दोश्रो त्रैमासिक मूल्यांकनमा नुवाकोटले २० दशमलव २५ पूर्णांकमा १९ दशमलव ३७५ प्राप्त गरेको हो । छिमेकी रसुवा ८ औ स्थानमा रहेको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्यांकनमा नुवाकोट दोस्रो स्थानमा रहेको छ भने नुवाकोटसंगै जोडिएको छिमेकी काठमाडौं जिल्ला कमजोर देखिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले २० दशमलव २५ पूर्णांकमध्ये १९ दशमलव ३७५ अंक हासिल गर्दै उत्कृष्ट भएको हो । यस उपलब्धिसँगै नुवाकोटले प्रशासनिक कार्यसम्पादन, सेवा प्रवाह र सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ ।

उनका अनुसार मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूको कार्यसम्पादन मूल्यांकन गर्दा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन तथा सेवा प्रवाह, सामूहिक सुधारको वातावरण निर्माण, विपद् व्यवस्थापन, समन्वय तथा सहजीकरण, साथै सदाचार र आचरणका आधारमा मूल्यांकन गर्ने व्यवस्था गरेको छ । उक्त सूचकहरूमा आधारित मूल्यांकनमा नुवाकोटले उच्च अंक प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरेको हो । यससंगै जिल्ला प्रशासन कार्यालयको कार्यक्षमता र जिम्मेवारी निर्वाहप्रति सकारात्मक सन्देश दिएको सहायक प्रजिअ कृष्णप्रसाद हुमागाइको भनाई छ ।

यससंगै नुवाकोटको दोश्रो स्थानमा सफलतापछि जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई विभिन्न तहबाट सकारात्मक सुझाव, सन्देश, बधाई तथा शुभकामना आइरहेका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकको कार्य सम्पादन मुल्याङकनमा नुवाकोट जिल्ला देशभरमा दोस्रो बन्न सफल भएको हो । मन्त्रालयले गरेको मुल्यांकन अनुसार नुवाकोटभन्दा केहि वढि १९ दशमलव ५ अंक ल्याएर हिमाली जिल्ला मनाङ पहिलो बनेको छ ।

डोटी, पर्वत, रूपन्देही र स्याङ्जाले समान १९ दशमलव २५ अंक प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् । मूल्यांकन प्रक्रियामा जिल्ला प्रशासन कार्यालयहरूले सम्पादन गरेका कार्यहरूको विवरण अनलाइन प्रणालीमार्फत अपलोड गर्नुपर्ने व्यवस्था छ । मन्त्रालयका अनुसार यो मूल्यांकनले जिल्लाहरूबीच विकास, सुशासन र सेवा प्रवाहमा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको छ । नुवाकोटको छिमेकी जिल्ला रसुवा ८ औ स्थानमा परेको छ ।

रसुवाले १९ अंक हात पारेको छ । यता, देशको राजधानी रहेको काठमाडौं जिल्ला ७७ औं स्थानमा सीमित भएको छ । संघीय राजधानी रहेको काठमाडौं जिल्ला भने कार्यसम्पादनमा यस पटक कमजोर देखिएको छ । राजधानीकै प्रशासनिक संरचना अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको भन्दै यसतर्फ सुधार आवश्यक देखिएको विश्लेषण गरिएको छ ।











































