चलचित्रकर्मीहरुलाई आर्थिक सहयोग
बिदुर– बिरामी रहेका तथा अस्वस्थ्य चलचित्रकर्मीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । एकैपटक सात जना चलचित्रकर्मीहरुलाई आर्थिक सहयोग उपलवध गराइएको हो । चलचित्र विकास बोर्डअन्तर्गत सञ्चालित चलचित्रकर्मी कल्याणकारी कोषबाट अस्वस्थ रहेका तथा उपचार÷स्वास्थ्य सम्बन्धी कठिनाईको सामना गरिरहेका चलचित्रकर्मीहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

वोर्डले नेपाली चलचित्र क्षेत्रमा आ–आफ्नो विद्याबाट महत्वपूर्ण योगदान पु¥याएका चलचित्रकर्मीहरूको स्वास्थ्य, सम्मान र कठिन समयमा साथ दिने उद्देश्यसहित चलचित्रकर्मीलाई सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग प्राप्त चलचित्रकर्मीहरूमा रोमा बिष्ट, क्षितिजा शाक्य, द्वन्द्व कलाकार फणिन्द्रबहादुर विश्वकर्मा, निर्देशक पासाङतेम्बा शेर्पा, चलचित्र पत्रकार शान्तिप्रसाद उपाध्याय, निर्माता प्रवीण थापा र दिवंगत वरिष्ठ श्रृंगारकर्मी स्व. अशोक रोक्काका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

विरामी, रोगको समस्याको प्रकृति अनुसार २५ हजारदेखि एकलाख रुपैयासम्म आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । बिरामी चलचित्रकर्मीलाई कार्यक्रभमकाबीच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सहयोग रकम हस्तान्तरण गरे । उनले चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रका स्रष्टा, कलाकार, प्राविधिक, चलचित्र पत्रकार तथा समग्र चलचित्रकर्मीहरूको सम्मान, सुरक्षा र कल्याणप्रति सदैव प्रतिबद्ध रहेको वताए ।

अध्यक्ष डिसीसंगै चलचित्रकर्मी कल्याणकारी कोषका संयोजक बसुन्धरा भुसाल तथा कोषका सदस्यहरू मोहन निरौला, नारायण प्रधान, जनकदीप पराजुली र पुष्कर लामालगायतले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । नेपाली चलचित्र उद्योगमा योगदान दिएका चलचित्रकर्मीप्रति बोर्ड सदैव सहयोगको पक्षमा रहेको जनाएको छ ।














































