चलचित्र निर्देशन तालिम सन्चालन
बिदुर – मातृभाषी चलचित्रको विकास र प्रवद्र्धनका लागि ’चलचित्र निर्देशन’ तालिम सन्चालन भएको छ । निर्देशन सम्वन्धि प्रशिक्षण भइरहेको छ । स्वदेशी चलचित्र– हाम्रो पहिचान, हाम्रो गर्व भन्ने मुल नाराका साथ आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डको सहयोग तथा धिमाल चलचित्रकर्मी सङ्घको आयोजनामा ’चलचित्र निर्देशन’ तालिम सन्चालन भएको हो ।

उक्त तालिम झापाको दमकमा सञ्चालन भइरहेको छ । उक्त तालिमको सहजीकरण चलचित्र निर्देशक अरुण प्रधानले गरिरहेका छन् । पाँच दिने तालिममा स्थानीय धिमाल समुदायका २० जना युवा चलचित्रकर्मीहरु सहभागी रहेका छन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डकी अधिकृत अप्सरा समालकोसमेत सहभागिता रहेको छ । चलचित्र विकास बोर्ड मातृभाषी चलचित्र, स्थानीय सर्जक, आदिवासी जनजाति समुदायका कथा, भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत संरक्षण, प्रवद्र्धन र विस्तार गर्न निरन्तर प्रतिबद्ध रहेको वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई रहेको छ ।
















































