शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम
बिदुर – शिक्षकहरुका लागि नुवाकोटको तारकेश्वरमा एकीकृत पाठ्यक्रम सम्बन्धी कार्यक्रम सन्चालन गरिएको छ । यसवाट शिक्षकहरुमा अध्यापनमा प्रभावकारिता आउने जनाइएको छ । तारकेश्वर गाउँपालिकाले शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी पाँच दिने कस्टमाइज्ड तालिम सन्चालन गरेको हो ।

तालिमको उद्घाटन गर्दै तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले शिक्षकहरुले सिकेका सीपलाई विद्यार्थीको अधिकतम लाभका लागि प्रयोग गर्न आग्रह गरेका छन् । रुम टु रिड र रुडेक नेपालको समन्वय, सहकार्य र प्राविधिक सहयोगमा शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सन्चालन भएको हो । पांच दिनसम्म सन्चालन हुने तालिममा तारकेश्वर गापाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको छ ।

तरकेश्वर गापाले शैक्षिक गुणस्तर सुधारको अभियान अन्तर्गत शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि सूचना प्रविधि लगायतका विविध विषयमा नियमित तालिम सञ्चालन गर्दै आइरहेको छ । उक्त अवसरमा गापा अध्यक्ष अधिकारीले पाँच दिनमा सिकेको शैक्षिक सिपलाई सिकाइ उपलब्धिका रूपमा ग्रहण गर्दै विद्यार्थीहरूको उच्चतम लाभका लागि प्रयोग गर्न सहभागी शिक्षकहरूलाई निर्देशन दिए ।

शैक्षिक सुधारको अभियानमा स्थानीय सरकार सशक्त रूपले लागिपरेको बताउँदै अध्यक्ष अधिकारीले गाउँपालिकाका नीति निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै शैक्षिक गुणस्तर सुधारको यस अभियानमा समाहित हुन अनुरोध गरे । अहिलेको एक्काइसौँ शताब्दी सुहाउँदो समयानुकूल पाठ्यक्रम र शिक्षण विद्यिहरूलाई अवलम्बन गर्दै शिक्षकहरूले आफूलाई निरन्तर अपडेट गर्दै, सिक्दै सिकाउँदै लक्ष्य अनुरूपको उपलब्धिलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।















































