दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सुरु

– विभिन्न सचेतनामुलक कार्यक्रम
लोकखबर
२०८३ बैशाख ३०, बुधबार ००:१५

बिदुर– विभिन्न सचेतनामुलक कार्यक्रमसहित नुवाकोटमा दुर्घटना न्यूनीकरण कार्यक्रम सन्चालन गरिएको छ । ट्राफिक सचेतनालगायतका कार्यक्रम सुरु गरिएको छ ।नुवाकोटमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सप्ताह–२०८३ सन्चालन गरेका हुन् ।

दुर्घटना न्युनीकरणको उद्धेश्यसहित ट्राफिक गतिविधिका लागि “सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह अभियान सन्चालन गरिएको हो । ट्राफिक सप्ताहको अवसरमा नुवाकोट आदर्श क्याम्पसदेखि बसपार्कसम्म जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी तथा सर्वसाधारण, विभिन्न विद्यालयका विद्यार्थीहरुलगायतले प्रभातफेरीमा सहभागिता जनाएका थिए । कार्यक्रममा बिदुर नपाका मेयर राजन श्रेष्ठले ट्राफिक नियमको पालना सभ्य र जिम्मेवार समाजको पहिचान भएको बताए ।

पछिल्लो समय सवारी साधनको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढिरहेको उल्लेख गर्दै उनले जनचेतना विस्तारमार्फत मात्रै दुर्घटना नियन्त्रण सम्भव हुने वताए । ट्राफिक अनुशासन कायम गर्नु प्रहरीको मात्र दायित्व नभई सबै नागरिकको साझा जिम्मेवारी भएको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सुरक्षित यात्राका लागि ट्राफिक नियमलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए ।

सडक सुरक्षालाई प्रभावकारी बनाउन सरकारी निकाय, स्थानीय तह, विद्यालय तथा नागरिक समाजबीच समन्वय अपरिहार्य रहेको बताए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक विपिन रेग्मीले दुर्घटना न्यूनीकरणका लागि प्रहरी सक्रिय रूपमा परिचालित रहेको जानकारी दिए । सडक अनुशासन कायम गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे ।

ट्राफिक सचेतनामूलक कार्यक्रमसँगै निगरानी र नियम उल्लंघन गर्नेविरुद्ध कारबाहीलाई समेत प्रभावकारी बनाइएको छ । कार्यक्रमअन्तर्गत आयोजित प्रभातफेरीमा विद्यार्थी, सुरक्षाकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो । सहभागीहरूले सडक सुरक्षासम्बन्धी विभिन्न नारासहित बिदुर बजार परिक्रमा गरेका थिए भने विद्यार्थीहरूले प्लेकार्डमार्फत सुरक्षित यात्राको सन्देश दिएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोदकुमार ढकालका अनुसार ट्राफिक सप्ताह अवधिभर विद्यालय केन्द्रीत सचेतना कार्यक्रम, चालक तथा सहचालक अभिमुखीकरण, हेल्मेट र सिटबेल्ट प्रयोगसम्बन्धी अभियान, मापसे नियन्त्रण तथा सडक सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।

उनले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा यात्रुहरूलाई समेत सुरक्षित यात्राप्रति सजग रहन आग्रह गरे । सप्ताहव्यापी अभियानले नुवाकोटमा सडक सुरक्षा र ट्राफिक सचेतनाबारे सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र प्रहरी उपरिक्षक बिपिन रेग्मी, जिल्ला ट्राफिक प्रमुख विनोद ढकालले ट्राफिक नियमको पालनावाटै सडक अनुशासनका साथै सडक दुर्घटना न्युनीकरण हुने बताए ।

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताहले सवशेष मद्धत पुग्ने ट्राफिक प्रमुख ढकालले बताए । साताभर चल्ने उक्त कार्यक्रम अन्तर्गत चालक तथा सहचालकहरूलाई प्रशिक्षण, पैदलयात्री सचेतना, विद्यालयहरूमा ट्राफिक नियम सम्बन्धी जानकारी र तीव्र गति नियन्त्रणका लागि विशेष जाँच जस्ता गतिविधिहरू सञ्चालन गरिने प्रहरी निरीक्षक ढकालले जानकारी दिए । ट्राफिक सप्ताह अवधिभर सवारी नियम उल्लंघन गर्नेलाई सचेतना र शिक्षा दिने कार्यलाई प्राथमिकता दिइने जनाइएको छ भने उक्त विशेष अभियान आगामी आगामी जेठ ४ गतेसम्म सन्चालन हुने जनाइएको छ ।

 

 


सर्वाधिक रुचाइएको