त्रिशूली अस्पतालमा विशेषज्ञ सेवा
बिदुर – आम सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले नुवाकोटको त्रिशूलीमा विशेषज्ञ उपचार सेवा सन्चालन गरिएको छ । यसवाट सर्वसाधारणले विशेषज्ञ चिकित्सकमार्फत सेवा पाएका छन् । त्रिशूली अस्पतालमा विशेषज्ञ सेवा अन्तर्गत नाक, कान, घाँटीतर्फ ५१ जना र बालरोगतर्फ ४९ जना बिरामीहरूले चिकित्सकिय सेवा पाएर लाभान्वित भएको अस्पतालका प्रमुख राजेन्द्र लामाले जानकारी दिए ।

उनका अनुसार नाक, कान, घाँटीका बिरामीहरू मध्ये दुई वर्षीय बालिकाको प्रिअरिकल साइनसको (कानको अघिल्लो भागमा हुने प्वाल) सफल शल्यक्रिया र दूरबीनद्वारा एकजना पुरुषको प्वाल परेको कानको जालीको सफल शल्यक्रिया समेत गरिएको छ । त्रिशूली अस्पतालमा विशेष प्रभावकारी स्वास्थय सेवाहरु प्रदान गर्ने कार्य गरिदै आएको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले वताए । उनका अनुसार उक्त अस्पतालमा नुवाकोट, रसुवाका साथै धादिङको उत्तरी भेगका सर्वसाधारण उपचारका लागि आउने गरेका छन् ।

















































