कविता : आमाघर
आमा आफैँमा घर हो ।
आमाको अङ्गालो
प्रत्येक छोराछोरीको
थाप्लो लुकाउने छानो हो
कि विकृत हावापानीले
छुनसम्म नसकोस् कहिल्यै पनि ।
ढोका आमाको मुस्कान हो
जो अथकित उभिरहन्छ
स्वागतका निम्ति ।
विश्वासको खाँबो
मेरुदण्ड हो आमाको
जहाँ बुइँ चढेर
हेरेका थियौँ हामीले पनि
हिमाल पारीको देश ।
ती झ्यालहरु
आँखा हुन् आमाघरको
जहाँ असहाय र टुहुराहरु खोजिरहेछन्
फ्लोरेन्स नाइटिङगेल ।
आमाको छाती
घरको भित्ता हो
जो हरदम सहिरहन्छ
वचनका गोलीहरु ।
सिङ्गै टाउको
धुरी हो घरको
जहाँ झुण्डिरहेका हुन्छन्
जिम्मेवारीका झोलाहरु ।
घरको बार्दली भन्नु नै
नाक हो आमाको
जुन दिलदेखि
शोभाका लागि बनाइन्छ ।
भुइँ
आँसु र पसिना पुछ्ने रुमाल हो
जो पट्याएर राख्नुहुन्छ आमाले
मस्तिष्कको बगलीमा ।
आँगन
सिङ्गो अनुहार हो आमाको
जहाँ खेलिरहन्छन्
जापनिज् केटाकेटीहरुले
घडीरमोबाइल र कम्प्युटर
बनाउने खेल ।
हो
आमा आफैँमा घर हो
जहाँ सिक्ने गर्छौँ हामी संस्कारको पाठ ।
त्यसैले मलाई
बबरमहल र रानी दरबारभन्दा
कयौँ गुणा प्रिय लाग्छ
आमाघर ।