गीत

स्मृतिको गङ्गा
डा. मणीनाथ पनेरु
२०८३ बैशाख १४, सोमबार २३:४६

बचपना साटेको प्यारो त्यो ठाउँ, आत्माको विश्राम,
मुटुमा गढेको त्यही मेरो गाउँ, त्यही हो मेरो धाम ।

त्यही गङ्गा–किनार, ती छालका स्पर्श, जहाँ पौडिन सिकें,
बाली र माटोको सुगन्ध बोक्दै, भविष्य त्यहीँ लेखें ।

​गाईको गोठालो, बेलौरी र गाजली, स्मृतिका ती छाया,
बथानसँगै वनपाखा डुल्दाको, त्यो अघोषित माया ।

संसारको जुनसुकै कुनामा रहूँ, समुन्द्र वारि वा पारि,
आक्कल–झुक्कल आइरहन्छ याद, बनाउछ मुटु भारी ।

​झल्किन्छन् ती दृश्य झल्झल्ती, म जहाँ पुगे पनि,
स्वर्ग भन्नु नै त्यही ठाउँ हो, जाहाँ जसरी लुके पनि ।

माटोले बोलाउँछ, यादले सताउँछ, टाढा भए नि हरपल,
मेरो स्वर्ग त त्यहीँ छ— जहाँ बग्छिन त्रिशूली कलकल ।

–बिदुर नपा  ५ पिपलटार, नुवाकोट, हालः पर्थ, अष्ट्रेलिया ।


सर्वाधिक रुचाइएको