नेपाल–चीन संयुक्त सुरक्षा अधिकारी वैठक

– सीमापार अपराध नियन्त्रणमा सामूहिक प्रतिवद्धता
लोकखवर विशेष संवाददाता
२०८३ जेष्ठ १२, मंगलवार ००:४४

बिदुर – नेपाल र चीनबीचको नियमित सीमा समन्वय अन्र्तक्रिया रसुवामा सम्पन्न भएको छ । धुञ्चेस्थित जिल्ला प्रशासन कार्यालयमा सम्पन्न अन्र्तक्रियासहितको वैठकमा सीमापार अपराध नियनत्रणका सम्वन्धमा सामूहिक प्रतिवद्धता जनाइएको छ । यसका साथै द्विपक्षिय सूचना संयन्त्रको प्रभावकारिता र दिगोपना, चीनको केरुङमा रहेका नेपालीहरुको गतिविधि र सुरक्षा सुनिश्चितता, सीमा सुरक्षा, सीमा पार, व्यापार, अपराध नियन्त्रण कार्यमा समन्वय, विपद व्यवस्थापनका लागि दुई देशिय सयन्त्रणको परिचालन गरिने वैठकमा निर्णय भएको । सो अन्र्तक्रियामा चीनीया अधिकारीले पांच र नेपालका तर्फवाट सात प्रकारका विषय प्रस्तुत गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय रसुवाको सभा कक्षमा रसुवा प्रशासन–चीन द्विपक्षीय समकक्षी बैठकमा नेपालका तर्फवाट रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको नेतृत्वमा ११ र चिनीया पक्षवाट जिलोङ आप्रवासन निरीक्षण स्टेशनका कमिस्नर झ जिनसुईको नेतृत्वमा ६ जना प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । चिनियाँ प्रतिनिधिमण्डलसंग नेपाली पक्षले सीमापार आवागमन र इ–पास स्वीकार्यतामा सहकार्यको प्रवद्र्धन, सीमापार आपराधिक क्रियाकलापहरु नियन्त्रण गर्न सहकार्यको सुदृढीकरण, चीनको केरुङमा नेपालीहरुको अवस्था, द्विपक्षीय व्यापार सहजीकरण, सीमास्तम्भहरुको अवलोकनमा सहजीकरण, विपद व्यवस्थापन, वन पैदावारहरुको आयात तथा निर्यातमा कानूनी नियमहरुको पालना सम्वन्धि विषय उठान गरेको थियो ।

यसका साथै संयुक्त बैठकमा नेपाल–चीन सीमासम्बन्धी सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, व्यापार प्रवद्र्धनलाई सहज बनाउने तथा सीमा अपराध नियन्त्रणमा आपसी समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । द्विपक्षीय सीमासम्बन्धी समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउँदै आपसी सहयोगात्मक भूमिकालाई प्रभावकारी रूपमा अघि बढाउने सहमतिसहित बैठक सम्पन्न भएको रसुवा प्रशासनले जनाएको छ । दुई देशका अधिकारीबीच भएको छलफलमा सीमा सुरक्षा, व्यापार सहजीकरण, आपसी समन्वय, सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

नेपाल–चीनबीच लामो समयदेखि रहँदै आएको ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा बैठक फलदायी भएको सहभागी अधिकारीहरूले बताएका छन् । हिमाली क्षेत्रका जनताको दैनिकी, व्यापार तथा आवतजावतलाई सहज बनाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन् । कामका सिलसिलामा केरुङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य उपचार र आवश्यक सहजीकरणका विषयमा नेपाली पक्षले चिनियाँ अधिकारीसमक्ष विशेष आग्रह गरेको जनाइएको छ ।

सीमा क्षेत्रबाट हुनसक्ने अवैध कारोबार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायलाई थप चनाखो र समन्वयात्मक रूपमा परिचालन गर्ने समझदारी भएको छ । विशेषगरी रसुवा बाहिरबाट आएका नेपाली सवारी चालकलाई समेत आवश्यक प्रक्रिया पूरा गरी केरुङ जान दिने विषयमा सकारात्मक छलफल भएको छ । राहदानी भएका र असल चालचलनका चालकलाई क्रमशः सहजीकरण गर्न सकिने सङ्केत चिनियाँ पक्षबाट आएपछि नेपाली सवारी चालक तथा व्यवसायीमा उत्साह थपिएको छ ।

यसअघि रसुवाका चालकलाई मात्र प्राथमिकता दिने चिनियाँ प्रावधानमा केही लचकता आउने सङ्केत देखिएसँगै व्यापार तथा ढुवानी क्षेत्र थप चलायमान बन्ने अपेक्षा गरिएको छ । नेपाल र चीनबीच सीमा क्षेत्रमा समस्या समाधान, सुरक्षा समन्वय तथा आपसी सहकार्यलाई निरन्तरता दिन केरुङ र रसुवामा आलोपालो बैठक बस्ने प्रावधानअनुसार बैठक नियमित रूपमा सञ्चालन हुँदै आएका छन् । सीमा क्षेत्रमा देखिएको सकारात्मक वातावरण, व्यापारिक गतिविधिमा बढ्दो सहजता तथा दुई देशबीचको मित्रवत् सम्बन्धले रसुवासहित समग्र उत्तरी नाका क्षेत्रमा नयाँ आशा र उत्साह थपिएको छ ।

 

 


सर्वाधिक रुचाइएको