त्रिशूली अस्पताललाई रेविज बिरुद्धको खोप
बिदुर – स्वास्थ्य उपचारमा सहजता ल्याउने उद्धेश्यले नुवाकोटको त्रिशूली अस्पताललाई रेविज बिरुद्धको खोप प्रदान गरिएको छ । अति आवश्यक रहेको रेबिज रोग बिरुद्वको ‘एण्टी रेबिज भ्याक्सिन बिदुर नगरपालिकाले त्रिशूली अस्पतालाई प्रदान गरेको हो । विदुर नपाको तर्फबाट मेयर राजन श्रेष्ठले तत्कालका लागि २० भाइल खोप त्रिशूली अस्पतालको निर्देशक डा.राजेन्द्र लामालाई हस्तान्तरण गरेका हुन् ।
उनले मानवको स्वास्थ्य सेवा महत्वपुर्ण रहेका कारण यसका एउटा चरण स्वरुप उक्र खोप हस्तान्तरण गरिएको वताए । कार्यक्रममा विदुर नपा ९ का वडाध्यक्ष हरेराम भण्डारी, विदुर नपाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीलगायतको सहभागिता रहेको थियो । त्रिशूली अस्पताल नुवाकोटको लागी योसहित चालु आर्थिक वर्षमा विदुर नपाको तर्फबाट एण्टी रेबिज भ्याक्सिन ६ सय भाइल खोप त्रिशूली अस्पतालको लागी उपलब्ध गराइसकिएको छ ।

विदुर नपाबाट खोप प्राप्त भएसगैँ त्रिशूली अस्पतालबाट रेबिज रोग बिरुद्वको एण्टी रेबिज भ्याक्सिन सेवा नियमित सञ्चालनमा सहयोग पुगेको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाको भनाई छ । यसका साथै जनावरले टोकेपछि समयमै लगाइएमा रेबिजबाट ज्यान जोगाउन सकिने र आकस्मिक अवस्थामा तुरुन्त उपचार सम्भव हुने चिकित्सकहरुको भनाई छ ।
समुदायमा जनस्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्यका साथ उक्त भ्याक्सिन हस्तान्तरण गरिएको हो । रेबिज संक्रमण भइसकेपछि उपचार सम्भव नहुने भएकाले समयमै खोप नै जीवनरक्षक उपाय भएकाले उक्त कार्यले आपतकालीन स्वास्थ्य सेवामा थप सहजता, प्रभावकारिता र जनस्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।











































