बिद्यालय समयमा सामाजिक सन्जाल प्रतिवन्ध
बिदुर – शैक्षिक तथा सिकाइमा सुधार गर्ने उद्धृश्यले नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बिद्यालय समयमा सामाजिक सन्जाल चलाउन रोक लगाएको छ । विद्यालयको शैक्षिक वातावरण र सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले सो गापाले विद्यालय समयभित्र फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालको प्रयोग नियन्त्रण गर्न निर्देशन दिएको हो । पन्चकन्या गाउं कार्यपालिकाको निर्णयअनुसार सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यालयको इन्टरनेट सेवामा आवश्यक सेटिङ मिलाई सामाजिक सञ्जालको अनावश्यक प्रयोग रोक्नुपनमा जोड दिदै उक्त रोक लगाएको हो ।
गाउँपालिकाकोे सो कदमले विद्यार्थी तथा शिक्षकको ध्यान पठनपाठनमा केन्द्रीत गर्न सहयोग पुग्ने पन्चकन्या गापाले अपेक्षा गरेको छ । यससँगै शिक्षक तथा कर्मचारीलाई सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजे विद्यालयमा अनिवार्य उपस्थित भई पौने १० बजेसम्म कक्षागत तथा विषयगत सिकाइ योजना तयार गर्न निर्देशन दिएको छ । विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न दैनिक छलफल, समीक्षा तथा आवश्यक रणनीति निर्माण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

निर्देशनमा बिहान पौने १० देखि १० बजेसम्म प्रार्थना तथा शैक्षिक गतिविधि सञ्चालन गरी समय व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने उल्लेख छ । साथै, महिनामा कम्तीमा एकपटक परियोजनामूलक तथा प्रयोगात्मक सिकाइ कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।
आन्तरिक परीक्षा सम्पन्न भएपछि नतिजामाथि समीक्षा गरी कमजोर विद्यार्थीलाई थप सहयोग उपलब्ध गराउनुपर्ने व्यवस्था पनि निर्णयमा समेटिएको छ । गाउँपालिकाले सबै विद्यालयलाई उक्त निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गरी विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अनुरोध गरेको छ ।











































