क्याम्पसमा कक्षाकोठा भवन निर्माण सुरु

– भवनको शिलान्यास, छात्रवृत्ति प्रदान
लोकखवर शिक्षा संवाददाता
२०८३ जेष्ठ २८, बिहीबार ०१:२६

बिदुर – नुवाकोटको सवैभन्दा पुरानो नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा नयां कक्षाकोठा भवनको निर्मााण सुरु भएको छ । भवनको शिलान्याससंगै निर्माण सुरु भएको हो । क्याम्पसमा आयोजित कार्यक्रममा सातकोठे कक्षाकोठा भवनको सिलान्यास र छात्रवृत्ती वितरण सम्पन्न भएको हो ।

नुवाकोट, रसुवा र धादिङकै सबैभन्दा पुरानो, ऐतिहासिक नुवाकोट आदर्श बहुमुखी क्याम्पस २०४२ साल फागुन १२ गते स्थापना भएको हो । सो क्याम्पसको नयाँ शैक्षिक भवनको बिदुर नपाका मेयर राजन श्रेष्ठले शिलान्यास गरेका हुन् । उनले शिक्षा मानवको विशेष अधिकार भएका कारण यसको गुणस्तरिय र प्रभावकारितामा जोड दिएका छन् ।

उनले दुवै कार्यले शिक्षाको गुणस्तर सुधार र समृद्ध समाज निर्माणको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले अगाडि भने “नुवाकोट आदर्श बहुमुखी क्याम्पसले हजारौँ दक्ष जनशक्ति उत्पादन गरेर देशका विभिन्न उच्च ओहोदामा पु¥याएको र आज हामी जुन स्थानमा छौँ, यो उपलब्धी हाम्रा अग्रजहरूको पसिना, त्याग, लगनशीलता र दूरदर्शिताले मात्र सम्भव भएको हो ।”

भौतिक पूर्वाधार बिना प्रविधिमैत्री र आधुनिक शिक्षा सम्भव नभएको उल्लेख गर्दै मेयर श्रेष्ठले नयाँ भवन निर्माणसँगै क्याम्पसको शैक्षिक वातावरण थप उत्कृष्ट बन्ने र यसले अनुसन्धानमूलक शिक्षामा जोड दिने वताए । आजको युग प्रतिस्पर्धात्मक, वैज्ञानिक र प्रविधिको युग भएको चर्चा गर्दै नगर प्रमुखले बदलिँदो समयअनुसारका बिषयहरु सूचना प्रविधि तथा प्राविधिक बिषयहरुलाई प्राथमिकता दिन आग्रह गरे ।

आधुनिक प्रविधि, अनुसन्धान र नवीनतम ज्ञानमा अब्बल बन्न प्राध्यापकहरूले आफूलाई निरन्तर ’अपडेट’ गरी खरो रूपमा उतार्नु आजको आवश्यकता भएको उल्लेख गर्दै मेयर श्रेष्ठले बिदुर नगरपालिकाको शैक्षिक सुधारका अनुभवहरु प्रस्तुत गर्दै लगनशील भएर अघि बढ्दा सफलता प्राप्त हुने विश्वास ब्यक्त गरे । क्याम्पस स्थापना कालमा अतुलनीय योगदान पु¥याएका संस्थापक तथा पूर्व अध्यक्ष स्व. विष्णुबहादुर आचार्यको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, लगनशीलता र पारिवारिक अवस्थालाई सम्मान गर्दै छात्रवृत्ति वितरण गरिएको छ ।

क्याम्पसको भौतिक पूर्वाधार विकासका लागि नयाँ भवनको शिलान्यास गरिएको क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले वताए । उनले पूर्व अध्यक्ष एवं संस्थापक बिष्णुबहादुर आचार्यको समाजमा तथा क्याम्पसको योगदानको स्मरण गर्नुहुदै उनको प्रशंसा गर्दै योगदान गर्ने ब्यक्तिलाई जहिले पनि क्याम्पसले सम्झिरहने बिचार ब्यक्त गरे ।कार्यक्रममा क्याम्पसका संस्थापकहरु शिवप्रसाद गजुरेल, क्याम्पस प्रमुख गोविन्दप्रसाद लिम्बु, संचालक समितिका सदस्यहरु ध्रुुव ढकाल, रामहरी घिमिरे, प्रकाशचन्द्र ढुंगाना, बिन्दा अर्याल, छत्रराज डंगोललगायतले शिक्षाको महत्वका सम्वन्धमा आआफनो धारणा ब्यक्त गरेका थिए ।

सोही कार्यक्रममा अध्ययनरत २७ जना बिद्यार्थीहरुलाई कुल दुईलाख १३ हजार सात रुपैयाँको छात्रवृत्ति रकम वितरण गरिएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा मानबिकी, शिक्षाशास्त्र र ब्यवस्थापन संकाय तथा ११, १२ कक्षा, स्नातक, स्नाकोत्तर तहमा गरी एकहजार पांचसय जना बिद्यार्थीहरु अध्ययनरत छन् ।
२०४२ सालदेखि हालसम्म झण्ढै सातहजार बिद्यार्थीहरुले ग्राजुएट हासिल गरी देश तथा बिदेशको बिभिन्न क्षेत्रमा उच्च ओहदामा रहेको क्याम्पस प्रमुख गोविन्दप्रसाद लिम्वुले वताए ।

क्याम्पसमा हाल २७ जना प्राध्यापक कर्मचारी कार्यरत छन् । कक्षा ११ मा यसै शैक्षिक सत्रबाट होटेल म्यानेजमेन्ट बिषय सञ्चालन गरिएको छ । स्नातक तहमा बिएड आई सिटि, बिबिए लगायतका नयाँ बिषय थप गर्ने प्रक्रियामा रहेको अध्यक्ष श्रीराम श्रेष्ठको भनाई छ ।


सर्वाधिक रुचाइएको