पहिरोग्रस्त विभिन्न स्थलमा पुगे सन्चारमन्त्रि

– अवरोध हटाई सुचारु गर्न निर्देशन
लोकखवर विशेष संवाददाता
२०८३ श्रावण ३०, शनिबार २२:२६

बिदुर – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटका विभिन्न स्थानमा गएको पहिराको स्थलगत अवलोकन गरेका छन् । उनले अत्यावस्यक कार्यमा अवरोध हटाएर सुचारु गर्न सम्वन्धित निकायलाई निर्देशनसमेत दिएका छन् । मन्त्रि डा. तिमिल्सिनाले पहिराले गरेको क्षति तथा मानव बस्ती जोखिमको अवस्थाको सम्वन्धमा शनिवार प्राविधिक टोलीसहित पुगेर स्थलगत अवलोकन गरेका हुन् ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले एकैदिन शनिबार नुवाकोटको सूर्यगढी, तादी र दुप्चेश्वर गाउँपालिका पुगेर पहिराले गरेको विभिन्न क्षतिको अवस्थाको मुल्यांकन गरेका हुन् । नुवाकोट १ को जनप्रतिनिधिसमेतको रूपमा मन्त्रि डा. तिमिल्सिनाले सूर्यगढी, तादी, दुप्चेश्वरलगायत गापाका विभिन्न पहिरो प्रभावित स्थानहरुको स्थलगत निरिक्षण भ्रमण गरेका हुन् । उनले वर्षात् जारी रहेको जनाउंदै सचेत, सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित रहन मद्दत गरौँ भन्दै सरोकारवाला निकाय र पहिरो प्रभावितहरुसंग अन्र्तक्रियासमेत गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय, जिल्लाका सुरक्षा निकायका अधिकारी,प्रतिनिधि तथा विकास-निर्माण-विपद्सँग सम्बन्धित विभिन्न निकायका प्रमुख÷प्रतिनिधिसंग उनले प्रभावकारी रुपमा छलफल गरेका हुन् । स्थानीय सरकार प्रमुख, प्राविधिक कर्मचारी तथा स्थानीय नेता एवं समुदाय प्रतिनिधिको सहभागिताले समस्या समाधानउन्मुख छलफल गर्दै मन्त्रि डा. तिमिल्सिनाले अत्यावस्यक कार्यका लागि अवरोध हटाई सुचार गर्न निर्देशन दिएका हुन् । मन्त्रि डा. तिमिल्सिनाले पहिले सुर्यगढी गाउँपालिका–२ स्थित रातमाटे, राम्चे, देवीथान, फटपुर लगायतका स्थानमा गएको पहिरो तथा बस्ती जोखिमको अवस्थाबारे स्थलगत अवलोकन गरेका हुन् ।

मन्त्री डा. तिमिल्सिनाले पहिरोबाट प्रभावित स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूका समस्या, गुनासा र आवश्यकताबारे जानकारी लिएका हुन् । अवलोकनका क्रममा पहिरोबाट प्रभावित बस्तीको जोखिम, स्थानीयको अवस्था तथा तत्काल आवश्यक पहलका विषयमा समेत जानकारी लिइएको छ । मन्त्रि डा तिमिल्सिनाले शनिबार पहिरो प्रभावित स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै समस्या, गुनासो र जोखिमको अवस्थाबारे जानकारी लिनुका साथै पहिरोको जोखिम न्यूनीकरणका विषयमा प्राविधिकहरूसँग समेत आवश्यक सल्लाह–सुझाव लिएका हुन् ।

स्थलगत अवलोकन तथा अन्र्तक्रियाका क्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी लगायत सम्बन्धित अधिकारी तथा प्राविधिकहरूको समेत उपस्थिति रहेको थियो । पहिराले मानव बस्तीको माथि र तल दुवैतर्फबाट पहिरो गएपछि स्थानीयवासी थप त्रसित बनेका छन् । पहिराले कालोपत्रे सडक नै क्षतिग्रस्त भएको छ । अविरल वर्षापछि गएको पहिरोले यसै वर्ष कालोपत्रे गरिएको सडकसमेत क्षतिग्रस्त बनाएको तथा आसपासका बस्ती थप जोखिममा परेको अवस्थाबारे मन्त्री डा. तिमिल्सिनाले स्थलगत रूपमा जानकारी लिएका हुन् ।

पहिरोले गरेको क्षति, जोखिममा रहेका बस्ती तथा सडकको अवस्थाबारे स्थानीयवासीसँग जानकारी लिँदै तत्कालीन तथा दीर्घकालीन रूपमा गर्नुपर्ने कामका विषयमा समेत चासो राखेका हुन् । मन्त्री डा तिमिल्सिनाले नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्दे पहिरोका कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण एवं स्थान्तरण, अवरुद्ध बनेका सडक, खानेपानी, विद्युत् सेवा सञ्चालन हुने प्रबन्ध मिलाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

सूर्यगढी गापा १ स्थित सेमराङभिरमा गएको पहिरो र त्यसबाट जोखिममा परेका बस्तीको जानकारी लिएपश्चात् सुर्यगढी २ स्थित फटपुर र पहरेथोकमा गएको पहिरोको अवलोकनसहित यसका कारण जोखिममा परेका बस्ती, अवरुद्ध भएको सडक आवागमन, विद्युत् सेवा, ड्वाचे खानेपानी योजनाको पाइपलाइनमा पुगेको क्षतिको अवलोकन–निरीक्षण गरेका हुन् । सुर्यगढी २ स्थित रातमाटे र राम्चेमा सडक माथिबाट खसेको पहिरो तथा देवीस्थानमा सडक तलबाट बगेको पहिरो र त्यसका कारण सडकसहित खानेपानी पाइपमा पुगेको क्षतिको पनि स्थलगत निरीक्षण गरिएको हो ।

पहिराले गरेको क्षतिको स्थलगत अवलोकन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय प्रभावित बासिन्दासँगको अन्र्तक्रियामा सञ्चारमन्त्री डा तिमिल्सिनाले प्राविधिक अध्ययनका आधारमा आवश्यक कदम तत्कालै अघि बढाइने प्रतिबद्धता जनाएका छन् । “वडा र पालिकाको कार्यालयसहित विपद्सम्बन्धी अध्ययन र अवस्था बुझ्ने निकायबाट प्राप्त हुने सुझावका आधारमा गर्नुपर्ने निर्णय तत्कालै कार्यान्वयन गराउन सङ्घीय सरकार तयारी अवस्थामा छ ।”, उनले अगाडि भने, “बस्तीलाई सुरक्षित बनाउन र त्यो सम्भव नभए जोखिममा परेका परिवारलाई तत्कालै स्थानान्तरण गर्नेछौँ ।”

सूर्यगढी गापां १ र २ मा बगेको पहिरोका कारण सुर्यगढी, लिखु र बिदुर नपामा वितरण हुँदै आएको ड्वाचे खानेपानी र विद्युत् प्रसारण लाइनमा पुगेको क्षति सञ्चालनमा चुनौती रहेको छ । सडकको आवागमनमा पुगेको अवरोध हटाई आवश्यकताअनुसार वैकल्पिक व्यवस्थाको प्रबन्ध मिलाउन मातहतका निकायलाई मन्त्री डा तिमिल्सिनाले निर्देशन दिएका छन् । पहिरो र जोखिम बस्तीको अवलोकनका लागि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालयलगायत निकायका प्राविधिकसमेत संलग्न रहेका थिए ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले नुवाकोटको सूर्यगढीसहित दुप्चेश्वर, तादी, पञ्चकन्या, शिवपुरीलगायतका पालिकामा गएका पहिरो र त्यसले पु¥याएको क्षति, पहिरोले जोखिम बनाएका बस्तीसहित विकासका पूर्वाधारमा पुगेका क्षतिको स्थलगत निरीक्षण, अवलोकनपश्चात् आवश्यक कार्य तत्कालै अघि बढाउन सङ्घीय सरकारको नेतृत्वमा सरोकारवाला सबै निकायलाई साथ लिएर अघि बढ्ने बताए । नुवाकोटमा मनसुनजन्य विपद्का कारण जिल्लाका विभिन्न स्थानमा सडक तथा बस्तीमा पहिरो खस्दा जनजीवन प्रभावित भएको तथा कतिपय बस्ती जोखिममा परेपछि सञ्चारमन्त्री डा. तिमिल्सिनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोली लिएर जोखिमयुक्त क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।

मन्त्रि डा. तिमिल्सिनाले विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने वताउंदै जोखिममा रहेका बस्तीको पहिचान, बस्ती व्यवस्थापन तथा स्थानान्तरण, प्रभावित परिवारलाई सुरक्षित आश्रय, राहत तथा पुनःस्थापनाका काममा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले अग्रसरता लिनुपर्ने बताए । मन्त्री डा. तिमिल्सिनाले जोखिममा रहेका सबै परिवारलाई तत्कालका लागि सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले अस्थायी टहरा तथा टेन्टको व्यवस्था नभएका परिवारलाई समेत तत्काल आवश्यक व्यवस्था मिलाउन आग्रह गरे । डा. तिमिल्सिनाले जिल्लाको विद्युत् वितरण प्रणाली, आवश्यक पूर्वाधार, सेवा प्रवाहका क्रममा देखिएका समस्या तथा समाधानका लागि भइरहेका पहलका विषयमा समेत प्राधिकरणका अधिकारीसँग जानकारी लिए ।

जोखिमयुक्त क्षेत्रमा विद्युत् संरचनाको सुरक्षासहित वैकल्पिक व्यवस्थामा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ । सडक डिभिजन नुवाकोटको प्राविधिकसँग पनि सडकको अवस्थाबारे जानकारी लिँदै पहिरोका कारण अवरुद्ध तथा जोखिममा परेका सडकखण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक काम तत्काल अघि बढाउन निर्देशन दिए । स्थलगत निरीक्षणका क्रममा प्रजिअ शम्भुप्रसाद रेग्मीले सूर्यगढी–१ को सेमराङ तथा वडा नं. २ का फट्पुर र पहरेथोक लगायतका बस्ती पहिरोको उच्च जोखिममा रहेको बताए ।

उनले जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक पहल भइरहेको वताए । उनका अनुसार जोखिममा रहेका परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाइएको वताए । जोखिमको थप मूल्याङ्कन गरी दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा समेत काम भइरहेको रेग्मीको भनाई छ ।

स्थलगत निरीक्षणकै क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सूर्यगढी गापा–४ स्थित स्थानीय प्रकाश गिरीको पहिरो प्रभावित घरको समेत अवलोकन गरी प्रभावित परिवारसँग छलफल गरेका छन् । मन्त्रि डा. तिमिल्सिनाले दुप्चेश्वर गाउँपालिका–३ सरमथलीको पहिरो क्षेत्रको निरीक्षण गरेका छन् । लगातारको वर्षाका कारण नुवाकोटका विभिन्न ग्रामीण सडक तथा बस्तीमा पहिरोको जोखिम बढेको छ । स्थलगत निरीक्षणबाट पहिरोको वास्तविक अवस्था, जोखिममा रहेका परिवारको संख्या, सडक तथा विद्युत् पूर्वाधारमा भएको क्षति र तत्काल गर्नुपर्ने कामको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ ।


सर्वाधिक रुचाइएको