काठमाडौंलाई चलचित्रको अन्र्तराष्ट्रिय शहर वनाइने

– महानगर तथा बोर्डबीच नीतिगत अन्र्तक्रिया
लोकखवर मनोरन्जन संवाददाता
२०८३ श्रावण ३१, आईतवार २२:४७

बिदुर – काठमाडौंलाई चलचित्रको अन्तर्राष्ट्रिय सहर बनाउने कार्यमा नीतिगत पहल सुरु भएको छ । काठमाडौँलाई चलचित्र, कला र रचनात्मक उद्योगको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने कार्यमा महत्वपूर्ण नीतिगत पहल सुरु भएको हो । काठमाडौँ महानगरपालिकाका कावा मेयर सुनीता डंगोलको अध्यक्षतामा ‘काठमाडौँ रचनात्मक कला परिषद’को पहिलो बैठक सम्पन्न भएको छ ।

‘रचनात्मक सहर सञ्चालन व्यवस्थापन कार्यविधि, २०८२’ अनुसार गठित परिषदमा चलचित्र विकास बोर्डका अध्यक्षसमेत सदस्य रहने व्यवस्था रहेको छ । यसले चलचित्र क्षेत्रको विकासमा संघीय चलचित्र निकाय र स्थानीय सरकारबीच संस्थागत सहकार्यका लागि महत्त्वपूर्ण आधार तयार गरेको छ । बैठकमा विशेषगरी काठमाडौँ फिल्म फेस्टिभल आयोजना गर्ने विषय, चलचित्रमार्फत काठमाडौंको पहिचान र गरिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, चलचित्र निर्माण–प्रवद्र्धन–प्रदर्शनका लागि दीर्घकालीन नीति विकास गर्ने तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण र लगानी काठमाडौंमा आकर्षित गर्ने वातावरण निर्माण गर्ने विषयमा अन्र्तक्रियासहितको छलफल भएको छ ।

कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा रचनात्मक उद्योगमा संलग्न जनशक्तिका लागि अनुकूल वातावरण निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र सीप आदानप्रदान तथा युनेस्को क्रियटिभ सिटिज नेटवर्क अन्तर्गतका सहरहरूसँग सहकार्य विस्तार गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको छ । काठमाडौं महानगरपालिका चलचित्र विद्याबाट युनेस्को क्रियटिभ सिटिज नेटवकमा आबद्ध भइसकेको अवस्थामा अब यसको अवसरलाई नेपाली चलचित्रको उत्पादन, प्रवद्र्धन, फिल्म पर्यटन, अन्तर्राष्ट्रिय सहनिर्माण र बजार विस्तारसँग जोड्नु महत्त्वपूर्ण छ । चलचित्र विकास बोर्डले नेपाली चलचित्रलाई देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय बजार, महोत्सव, सहनिर्माण र सांस्कृतिक आदानप्रदानसँग जोड्ने वातावरण निर्माणलाई महत्व दिँदै आएको छ ।

काठमाडौँ रचनात्मक कला परिषदजस्ता साझा संस्थागत संरचनाले स्थानीय सरकार, संघीय चलचित्र निकाय र चलचित्र क्षेत्रबीच आवश्यक समन्वयलाई अझै प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । नेपालका कथा, संस्कृति, सम्पदा र सिर्जनालाई विश्वका पर्दासम्म पु¥याउन नीति, पूर्वाधार, प्रवद्र्धन र सहकार्य एकसाथ अघि बढ्नुपर्ने चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ । उनले काठमाडौँ रचनात्मक कला परिषदको पहिलो बैठकलाई चलचित्र विकास बोर्डले यही दीर्घकालीन यात्राको सकारात्मक सुरुवातका रूपमा लिएको वताए ।

 


सर्वाधिक रुचाइएको