फुटसल प्रतियोगिताको तयारी पुरा

– छात्र र छात्रा दुवै गरि ५९ समूह भिड्ने
लोकखवर खेल संवाददाता
२०८३ भाद्र ६, शनिबार २३:४९

बिदुर – फुटसल खेल र खेलाडिहरुको प्रवद्र्धनका लागि नुवाकोटको बट्टारमा सन्चालित पाँचौँ एनयुएफसी फुटसल प्रतियोगिता–२०८३ को तयारी पुरा भएको छ । उक्त प्रतियोगिता आइतबारदेखि सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागिताका लागि छात्र र छात्रा दुवै गरि ५९ टिमले नाम दर्ता गराएका छन् । प्रतियोगिता भने छुट्टाछुट्टै हुनेछ ।

नुवाकोट जिल्लाका विभिन्न विद्यालयको सहभागिता रहने प्रतियोगिताको खेल तालिका एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । छात्रतर्फ ४९ समूहले नाम दर्ता गराएका छन् । छात्रातर्फ भने ९ समूहले नाम दर्ता गराएका छन् । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरी टाइसिट सार्वजनिक गरिएको आयोजक नुवाकोट युनाइटेड फुटबल क्लबका सचिव रबिन भुजेलले जानकारी दिए ।

उनका अनुसार सहभागीहरूलाई २ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ । छात्रतर्फ प्रथमलाई नगद २० हजार, द्वितीयलाई नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । छात्रातर्फ प्रथमलाई नगद १० हजार, द्वितीयलाई नगद सातहजार ५ सय नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिया्गिताका उत्कृष्ट खेलाडीलाई नगद एकहजार ट्रफी र प्रमाणपत्र, हाई स्कोररलाई नगद एकहजार ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरलाई नगद एकहजार ट्रफी र प्रमाणपत्र र उदीयमान खेलाडीलाई पनि नगद एकहजारका साथ ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू बट्टारस्थित नुवाकोट फुटसल मैदानमा सञ्चालन हुनेछन् । प्रतियोगितामा ३९ वटा विद्यालयका विद्यार्थी खेलाडिहरुको सहभागिता रहनेछ ।

 


सर्वाधिक रुचाइएको