कलाकारद्वारा बाढी पीडितका लागि सहयोग
बिदुर – लेन्देखोलावाट भोटेकोशी नदी हुदै त्रिशूली नदीमा आएको विनासकारी बाढीले प्रभावित पीडितहरुका लागि कलाकारहरुले आर्थिक सहयोग गरेका हुन् ।कलाकारहरले सरकारलाई आर्थिक सहयोग गरेका हुन् । बाढीबाट प्रभावित तथा पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाली चलचित्र क्षेत्रसँग आबद्ध कलाकार तथा चलचित्रकर्मीहरूले आर्थिक सहयोग गरेका हुन् । चलचित्रकर्मीहरूको समूहले सूचना, सञ्चार तथा प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष बाढीपीडितका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

नेपाल चलचित्र कलाकार संघ अमेरिकाका संयोजक दिनेश कार्की, मनोज आचार्य ‘खुराफाती’ तथा नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष उत्तम केसीसहित वरिष्ठ कलाकारहरू कृष्ण मल्ल, मोहन निरौला, रविन्द्र खड्का, शर्मिला मल्ल, नारायण प्रधान, राजेश बिसुराल, शंकर महर्जन र गंगा पोखरेलको समूहले उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम अमेरिकामा बसोबास गर्ने शुभाष महर्जन, कृष्ण सेढाई, राज कोईराला, महेश्वर घिमिेरे, विश्व पौडेल, शसी केसीराणा, चन्दा प्रधान तथा जयहोस एलएलसीको सहयोगमा संकलन गरिएको हो । यता, नेपाल फिल्म सोसाइटीले पनि भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि तीन लाख ३३ हजार रुपैयाँ सहयोग गरेको छ । सोसाइटीका अध्यक्ष कृष्ण मल्लसहित शर्मिला मल्ल, राजेश बिसुराल, रविन्द्र खड्का, नारायण प्रधान, राकेश खड्का, मोहन श्रेष्ठ, रामशरण जंगम, अनिता बिसुराल, शंकर महर्जन, गंगा पोखरेल लगायतको टोलीले उक्त रकम हस्तान्तरण गरेको हो ।

दुवै समूहबाट गरी चलचित्र क्षेत्रबाट भोटेकोशी बाढीपीडितका लागि कुल चार लाख ६३ हजार रुपैयाँ सहयोग जुटाइएको छ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले चलचित्र क्षेत्रबाट सहयोग जुटाइएको चलचित्रकर्मीहरूले बताएका छन् । पछिल्लो समय कलाकार, विभिन्न संघसंस्था तथा व्यक्तिगत पहलमा भोटेकोशी बाढीपीडितका लागि राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने क्रम जारी रहेको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको भनाई छ । उनका अनुसार बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र कलाकार सङ्घ अमेरिका शाखाले कुल चार लाख ८३ हजार ३ सय ३३ आर्थिक सहयोग गरेका हुन् ।

नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको नेतृत्वमा तीन लाख ३३ हजार ३ सय ३३ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो । नेपाल चलचित्र कलाकार सङ्घ अमेरिका शाखाका अध्यक्ष दिनेश कार्की र कलाकार मनोज आचार्यले एक लाख ५० हजार रुपैया सहयोग जम्मा गरिएको भौचर मन्त्री तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो । उक्त अवसरमा सञ्चारमन्त्री तिमिल्सिनाले विपद्को समयमा चलचित्र क्षेत्रबाट गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नेपाली चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकार आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए । बाढीपीडितको राहत तथा पुनःस्थापनाका कामलाई सरकारले प्राथमिकतामा राखेर अघि बढाइरहेको उनले वताए ।

मन्त्री डा. तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नीतिगत, कानुनी तथा आर्थिक पक्षमा सुधार गर्दै अघि बढ्ने सरकारको तयारी रहेको वताए । मन्त्री तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीका लागि प्रभावकारी र समन्वयकारी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको पनि वताए ।
चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न कुल तीन करोड ५० लाख रुपैया अनुदान विनियोजन गरिएको वताउंदै उनले उक्त बजेट कार्यान्वयनका लागि ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।

उक्त कार्यक्रममार्फत सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषय समेटिएका यथार्थपरक, मौलिक र उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको मन्त्री डा. तिमिल्सिनाको भनाई छ । संसदमा विचाराधीन चलचित्र विधेयकलाई प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने गरी काम भइरहेको जानकारी दिँदै मन्त्री डा. तिमिल्सिनाले चलचित्र क्षेत्रले लामो समयदेखि अपेक्षा गरेको नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखिएको बताए । नेपाली कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुलाई चलचित्रमार्फत अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने प्रयासलाई सरकारले प्रोत्साहन गर्ने उनको भनाई छ ।















































