सुरक्षित स्थानमा रहन नुवाकोट प्रशासनको आग्रह

– अनावस्यक गाडी रोकिने, जिल्ला आपतकालीन हटलाइन जारी
लोकखबर
२०८३ आश्विन ८, बिहीबार १४:०४

बिदुर – तीन दिन भारी वर्षात्को पूर्वानुमानसंगै नुवाकोटमा नागरिकलाई सुरक्षित स्थानमा रहन प्रशासनले सचेत गराएको छ । अनावस्यक यात्रामा रहेका गाडी रोकिनुका साथै जिल्ला आपतकालीन हटलाइन नम्वरसमेत जारी गरिएको छ । पहाडि संरचना रहेको नुवाकोटमा यहि असोज ९ गतेदेखि ११ गते आइतवारसम्म तीन दिन लगातार भारी वर्षा हुने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आम सर्वसाधारणलाई आग्रह गरेको हो ।

 

नेपाल मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार बनाउँदै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेगमीले बुधबार सूचना जारी गरी सम्भावित बाढी, पहिरो तथा अन्य विपद्को जोखिमबाट जोगिन नागरिकलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरेका हुन् । प्रशासनले विशेषगरी नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ । स्थानान्तरणमा समस्या भए सम्बन्धित स्थानीय तह र नजिकको सुरक्षा निकायसँग समन्वय गर्न भनिएको छ । त्यस्तै, अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । अनावस्यक गाडी रोकिनेसमेत जनाइएको छ ।

यात्रा गर्नैपर्ने अवस्था आए स्थानीय तह तथा सुरक्षा निकायबाट बाटोको अवस्था र सम्भावित जोखिमबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ । यात्राका क्रममा बाटो जोखिमपूर्ण देखिएमा गन्तव्यसम्म पुग्नैपर्ने हतार नगरी जहाँ पुगेको छ, त्यही आसपासको सुरक्षित स्थानमा रोकिन प्रशासनले आग्रह गरेको छ । नुवाकोट प्रशासनले जिल्ला आपतकालीन केन्द्रको १२३४ हटलाइनसहित नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरीको १११४ नम्वरमा कल गरेर जानकारी लिनसमेत सचेत गराएको छ ।

मौसमको प्रतिकुलता र अनुकुलता तथा सडकको अवस्था हेरेर जुनसुकै वेला पनि सवारीसाधन आवागमन रोक्न वा खुल्ला गर्न सकिनेसमेत जनाइएको छ । प्रशासनले यात्रामा निस्कँदा अतिरिक्त कपडा, ड्राइफुड, खानेपानी, मोबाइल चार्जर तथा प्राथमिक उपचारका आवश्यक औषधि साथमा राख्न र मोबाइल पर्याप्त चार्ज गरेर मात्र यात्रा गर्न पनि सुझाएको छ । सम्भावित विपद्का बेला वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरी पूर्वतयारी गर्न प्रशासनले आग्रह गरेको छ ।

त्यस्तै, माथिल्लो क्षेत्रमा नदी तथा खोलाको अवस्था कस्तो छ भन्नेबारे निरन्तर सूचना लिन र सम्भावित जोखिमको जानकारी पाएलगत्तै उद्धार तथा सुरक्षाका आवश्यक कदम चाल्न पनि प्रशासनले अनुरोध गरेको छ । प्रजिअ रेग्मीले भारी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, पहिरो तथा अन्य जोखिमलाई ध्यानमा राख्दै ‘विपद् आएपछि उद्धार खोज्नेभन्दा जोखिम आउनुअघि नै सुरक्षित हुने’ गरी पूर्वतयारी गर्न आम नागरिकलाई आग्रह गरेका छन् ।


सर्वाधिक रुचाइएको