खेल

बकैयामा प्रथम राष्ट्रिय माझी गोल्डकप फुटबल सुरु

लोकखबर
१ कार्तिक २०७६, शुक्रबार १९:५६

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आजबाट प्रथम राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले गरे ।

प्रतियोगिता उद्घाटनमा उनले खेलक्षेत्रको तारिफ गरे । ‘नेपाललाई चिनाउनको लागि सबैभन्दा महत्वपूर्ण माध्यम खेल भएको छ ।’ उनले भने।
नेपाली खेलाडी खेलका माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय मञ्चमा चिनाउन सफल भएको बताए । खेलक्षेत्र विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने उनले बताए ।

माझी समुदायको बसोबास रहेको क्षेत्र मकवानपुरको बकैया गाउँपालिका,४ जुरेलीस्थित खेल मैदानमा प्रतियोगिता गरिएको हो ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा अर्थ समितिका सभापति कृष्णप्रसाद दहाल, प्रदेशसभा सांसद प्रेमबहादुर पुलामी, नेकपा प्रदेशसभा सदस्य बुद्दिमान माझी, रिता माझी, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी लगायतको आतिथ्यता थियो ।

आयोजक माझी उत्थान संघ मकवानपुरका अध्यक्ष आशीष माझीले फुटबलमा माझी समुदायका युवालाई सहभागी गराई सिमान्तकृत समुदायको पहिचानमा सहयोग पुर्‍याउने अपेक्षा रहेको जानकारी दिए ।

प्रतियोगितामा देशका विभिन्न १५ वटा जिल्लाका १७ वटा टिमले भाग लिएका छन् ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने तथा विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद पाँच-पाँच हजार रुपिया प्राप्त गर्ने आयोजकले जानकारी दियो । प्रतियोगिता संचालनका लागि करिब २१ लाख रुपिया खर्च लाग्ने आयोजकले अनुमान गरेको अध्यक्ष आशीषले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*