राष्ट्रिय चलचित्र पुरस्कार प्रदान
बिदुर – विभिन्न विद्यामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको छ । वरिष्ठ अभिनेता नीर शाह र मिरुना मगरले उत्कृष्ट पुरस्कार प्राप्त गरे । व्यक्ति तथा चलचित्रतर्फ गरी विभिन्न आठ विद्यामा पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कलाकारहरुलाई राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरेका हुन् ।

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट अभिनेताको पुरस्कार नीर शाह जितेका हुन् । उनले परान चलचित्रमार्फत उक्त पुरस्कार पाएका हुन् । त्यसैगरी उत्कृष्ट अभिनेत्री तर्फको पुरस्कार ऊनको स्वीटरबाट मिरुना मगरले जितेकी छिन् । गत वर्ष यी दुवै चलचित्रलाई दर्शकहरुले औधी रुचाएका थिए । राष्ट्रिय चलचित्र पुरस्कार विजेताहरुमा दीर्घ साधना सम्मानतर्फ वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ भए । उनलाई नगद तीन लाख ७५ हजार नगदसहित सम्मान गरिएको छ ।

उत्कृष्ट चलचित्रतर्फ उनको स्वीटर, उत्कृष्ट निर्देशकमा नबीन चौहान (उनको स्वीटर), उत्कृष्ट अभिनेतातर्फ नीर शाह (परान), उत्कृष्ट अभिनेत्रीतर्फ मिरुना मगर (उनको स्वीटर) ले पुरस्कार पाए । उत्कृष्ट लेखकतर्फ दीपकप्रसाद आचार्य र यम थापा (परान), उत्कृष्ट छायाङ्कनतर्फ बाबु श्रेष्ठ (कोशेढुंगा), उत्कृष्ट सम्पादनमा नहकुल खड्का (कोशेढुंगा), उत्कृष्ट आदिवासी चलचित्रतर्फ इन्दिरा धिमे मैचा (नेपाल भाषा) ले पुरस्करा पाए । जुरी प्रोत्साहनतर्फ आना शर्मा (रमिताको पिरती), बिमोचन दवाडी (झरी पछीको इन्द्रेणी), विशेष चलचित्र पुरस्कारतर्फ नाक्छोङ (ज्योतिराज राई) ले पाए । सम्मानतर्फ विष्णुगोपाल श्रेष्ठ चलचित्र निर्माता, मेनुका प्रधान अभिनेत्री, डाक्टरसिंह गुरुङ निर्माता÷प्रदर्शक, प्रकाश सुवेदी पत्रकार, अभिनाशविक्रम शाह निर्देशक, रोहित रुम्बा अभिनेताले पाए ।

साथै एञ्जिला सुब्बा अभिनेत्री, लक्ष्मी बर्देवा अभिनेत्री, बिनोद शेरचन निर्माता, शङ्कर पाण्डे प्रोडक्सन मेनेजर र स्व. दिनेश सिटौला पत्रकार (मरणोपरान्त ५० हजार रुपैया नगदसहित) सम्माननित भए । नवीन चौहान निर्देशित ऊनको स्वीटरले ३ विद्यामा पुरस्कार जितेको छ । ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित हुनुका साथै उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक नवीन चौहान पाएका छन् । यसै चलचित्रबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन् ।

उत्कृष्ट अभिनेताको पुरस्कार परान चलचित्रबाट वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गरेका हुन् । उत्कृष्ट पटकथातर्फको पुरस्कार पनि परानले नै जितेको छ । पटकथाका लागि याम थापा र दीपकप्रसाद आचार्य पुरस्कृत भएका हुन् । चलचित्र क्षेत्रका ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको हो ।

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को निर्णायक मण्डलको संयोजकमा वरिष्ठ अभिनेता हरिहर शर्मा रहेका थिए । सदस्यहरूमा निर्देशक मिलन चाम्स, वरिष्ठ फिल्म प्राविधिक अरुण थापा, अभिनेत्री सरिता गिरी र संकृतिविद् तथा प्राध्यापक अरुण गुप्ता रहेका थिए । राष्ट्रिय चलचित्र पुरस्कार वितरण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्रकर्मी देशकै गहना भएको र उनीहरुलाई यस प्रकारको हौसला प्रदान गर्नु महत्वपुर्ण रहेको वताए ।

उनले सर्जकलाई पुरस्कारले जिम्मेवार बनाउने र काम गर्न ऊर्जा थप्ने बताए । चलचित्र मनोरञ्जनको माध्यम मात्र नभएर देशको मौलिक सँस्कृतिको जगेर्ना गर्ने माध्यम पनि भएको उनले बताए । सोही कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको कला, संस्कृति तथा कलाकरिता विशेष रहेको वताए ।
उनले कुनै पनि देशको संस्कृति र पहिचान बुझनका लागि त्यहाँको चलचित्र हेर्नुपर्ने बताए ।

चलचित्र समाजलाई जोड्ने माध्यम भएको धारणा पनि डा. तिमिल्सिनाले राखे । ‘राजनीतिले विभाजन ल्याउँछ । तर, कलाकारको कलाले समाजलाई जोड्छ’ मन्त्रि डा. तिमिल्सिनाले अगाडि भने । कलाकार मनोरञ्जनकर्मी मात्रै नभएर समाजको साँस्कृतिक दूत तथा सँस्कृतिका सम्वाहक भएको पनि उनले बताए ।

कलाकारहरुको हौसला उचाइमा लैजाने उद्धेश्यले यस प्रकारको कार्यक्रम गरिएको विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए । उनले नेपालमा हालसम्म चलचित्रले देशलाई साँस्कृतिक रुपमा मात्र योगदान गरेकोमा अब आर्थिक रुपमा पनि योगदान गर्ने दावी गरे ।

उनले हाल संसदमा विचाराधीन रहेको चलचित्र विधयेकमा वैदेशिक लगानीको विषय पनि समेटिने प्रतिवद्धता उनले व्यक्त गरे । राष्ट्रिय चलचित्र पुरस्कारमा अर्काे वर्षदेखि उदीयमान कलाकार र साउण्ड डिजाइनर गरी दुई विद्या थपिने अध्यक्ष डिसीले वताए ।

























































