हेटौंडामा विमानस्थल निर्माण गर्न प्रदेश सरकार सकारात्मक

लोकखबर
३ मंसिर २०७६, मंगलवार १२:१५

मकवानपुर । हेटौंडाका स्थानीयले विमानस्थल निर्माण गर्न प्रदेश सरकारसमक्ष माग गरेका छन्। हेटौंडा उपमहानगरपालिका- ३ बसामाडीका स्थानीयले उक्त क्षेत्रकै पूर्वपश्चिम राजमार्गको दक्षिणतिर आन्तरिक विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकारसमक्ष माग गरेका हुन्।

प्रदेश राजधानीमा विमानस्थलको आवश्यक रहेको र यसका लागि बसामाडीमा खाली रहेको करिब ३ सय बिगाहा जमिन उपयोगी हुने स्थानीयको भनाई छ।

राप्तीखोलाको किनारामा रहेको बगर क्षेत्रलाई तटबन्ध गरी विमानस्थल निर्माण गर्न उपयुक्त देखिएको खण्डमा प्रक्रिया अगाडि बढाउन स्थानीयले माग गरेका हुन्। मुख्यमन्त्री डोरमणि पौडेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालगायतको टोलीले पटकपटक सो क्षेत्रको अवलोकन गरेको हेटौंडा उपमहानगरपालिका–३ का वडाअध्यक्ष रामकुमार पुडासैनीले बताए।

हेटौंडा नगर आसपासका क्षेत्रमा खेतीयोग्य जमीन नभएको विज्ञहरूले पटकपटक बताएका छन्। राप्ती खोलाको किनारामा रहेको खाली जमीनलाई सुधार गरी विमानस्थल बनाउन उपयुक्त हुने देखिएका कारण सम्भाव्यता अध्ययन गर्न माग गरिएको वडाअध्यक्ष पुडासैनीले जानकारी दिए। खाली रहेको जमिन उपयोग गर्नका लागि स्थानीयवासीले प्रदेश सरकारसमक्ष पहल सुरु गरेको र प्रदेश सरकार यसमा सकारात्मक रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताए।

बसामाडी क्षेत्रका स्थानीयबासी, राजनीतिक दल, नागरिक समाजसँग बसेर छलफल चलाउने तयारी भइरहेको वडाअध्यक्ष पुडासैनीले जानकारी दिए। बसामाडीस्थित बालउज्ज्वल मावि व्यवस्थापन समितका अध्यक्ष मीनबहादुर अधिकारीले बसामाडीमा विमानस्थल स्थापना गर्ने प्रस्ताव सकारात्मक रहेको बताए।

बसामाडीको राप्तीकिनाराको बगरमा बलियो तटबन्ध गर्ने हो भने राजमार्गको पहुँचको हिसावले पनि विमानस्थल निर्माण गर्न उपयुक्त देखिएका बालउज्ज्वल माविका प्रधानाध्यापक शम्भु बर्तौलाले जानकारी दिए। प्रदेश सरकारको टिमले पटकपटक सो क्षेत्रको निरीक्षण गरेको पनि प्रअ बर्तौलाले जानकारी दिए।

राप्ती खोलाको दायाँबायाँ क्षेत्रमा टतबन्धन गर्नका लागि नारायणी नदी व्यवस्थापन आयोजनाले सम्भाव्यता अध्ययन गरिरहेकोले पनि योजमिनको पूरापुर उपयोग गर्न सकिने वडाअध्यक्ष पुडासैनीले जानकारी दिएका छन्। बाढी आउने समयमा राप्ती खोलाको बहावका लागि आवश्यक स्थान राखेर तटबन्ध निर्माण गरी राप्तीको बगरलाई भरपुर उपयोग गर्न सकिने पुडासैनीको धारणा छ।

बसामाडीमा विमानस्थल निर्माण गर्न सकेको खण्डमा प्रदेश–३ को राजधानीमा पनि सबैखाले सेवासुविधाको पहुँच हुने वडाअध्यक्ष पुडासैनीले बताए। राप्तीखोलाको बगरको रुपमा उपयोगविहीन अवस्थाको जमिनलाई सुधार गरेर उपयोग गर्नका लागि प्रदेश सरकारले पहल सुरु गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दाहालले बताए।   नेपाल न्यूजबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*