पर्यटन विकास

मकवानपुरको इन्द्रसरोबरमा पर्यटन विकासका लागि प्रदेश सरकारको सहयोग

लोकखबर
१६ मंसिर २०७६, सोमबार १७:१७

मकवानपुर । प्रदेश ३ सरकार मकवानपुरमा पर्यटनका सम्भावना बोकेको क्षेत्र पहिचान गर्दै विभिन्न पर्यटकीय स्थल विकास गर्न योजना सहित अघि बढेको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पर्यटनको सम्भावना ध्यान दिदै प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय थप पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि लागिपरेको छ ।

पर्यटन विकासका लागि मन्त्रालयले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट छुट्याएको छ । मन्त्रालयको सहयोगमा इन्द्रसरोवरमा साईकल ट्रयाक निर्माण गर्ने प्रदेश सरकारको योजना छ । साइकल ट्रयाक निर्माण गर्नका लागि आवश्यक प्रकृया पूरा गरिसकेको बताइएको छ ।

इन्द्रसरोबरमा नेपालकै एकमात्र मानव निर्मित ताल हेर्न अवलोकनकर्ता आकर्षित हुन्छन् । मकवानपुरको मार्खुमा निर्मित जलाशय अवलोकनका लागि हेटौंडा तथा काठमाडौंबाट नजिकै भएकाले मानिसको रोजाईमा परेको हो । पर्यटकका लागि मनपर्ने वातावरण तथा खान बस्नका लागि समेत उचित व्यवस्थापन भएकाले पर्यटन विकासका लागि इन्द्रसरोबर प्रसस्त सम्भावना बोकेको क्षेत्र हो । चिसो हावापानी, मनोरम प्राकृतिक दृश्य, पर्याप्त भौतिक सुविधाका कारण पर्यटकको मन सहजै तान्नसक्छ । इन्द्रसरोबरमा डुंगा चढेर मनोरन्जन लिनका लागि विशेषगरी बिदाको समयमा मानिसको बाक्लो उपस्थिती हुने गर्दछ ।

मकवानपुरका अन्य विभिन्न पर्यटकीय सम्भावना बोकेको क्षेत्र विकासका लागि पनि संघीय, प्रदेश तथा स्थानीय तहका सरकार लागिपर्नुपर्ने सरोकारवालाको सुझाव छ । मुलुकमा समृद्दिका लागि पर्यटनको भूमिका महत्वपूर्ण हुने भएकाले तीन वटै सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र पर्नुपर्ने सरोकारवालाको भनाई छ । नेपालले सन् २०२० लाई पर्यटन भ्रमण वर्षका रुपमा मनाउँने तयारी गरिरहेका बेला मकवानपुरमा विभिन्न पर्यटकीय सम्भावनाका क्षेत्र पहिचान गर्दै लागिपर्नुपर्ने आवश्यक छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *