पर्यटन विकास

मकवानपुरगढी घुम्न आउँने बढ्दै

लोकखबर
१६ मंसिर २०७६, सोमबार २१:३२

मकवानपुर । सेन राजाहरुले २ सय ९ वर्ष शासन सञ्चालन गर्दा मकवानपुर राज्यको दरबारको रूपमा रहेको मकवानपुरगढी दरबार क्षेत्र अवलोकनका लागि आउँनेको संख्या बढ्न थालेको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा मकवानपुरगढी दरबारक्षेत्र पर्न थालेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईं बताउँछन् । ‘सेनवंशको इतिहास हेर्नका लागि अनि पृथ्वीनारायण शाहको ससुरालीबारे जानकारीका लागि आउँनेहरु पनि हुनसक्छन् ।’ अध्यक्ष हुमागाई भन्छन्, ‘ हेटौंडा बजारबाट नजिक भएकाले तथा यातायातको सहज उपलब्धताका कारण मानिसको रोजाईमा मकवानपुरगढी परेको हो । ’

आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा विकास होस् भन्ने आफूहरुको योजना पनि भएकाले पछिल्लो समय मकवानपुरका अलावा ललितपुर, काठमाडौँ, सिन्धुली, चितवन लगायतका विभिन्न जिल्लाबाट पर्यटक आउँने गरेका छन् । मकवानपुरगढीमा सुन्दर ऐतिहासिक धरोहर, वंशगोपाल मन्दिर, कालिका मन्दिर, सिद्देश्वर महादेव मन्दिर र आकर्षक गुम्बा एवं स्तूपलगायतका धार्मिकस्थलहरु रहेका छन् । यी ऐतिहासिक सम्पदा अवलोकनका लागि आउँने मानिसको संख्या दिनानुदिन बढ्दो रुपमा रहेको पालिका अध्यक्ष हुमागाईंको भनाई छ ।

एघारौँ शताब्दीमा नेपालको पहिलो सेनवंशी राजा तुलासेनले निर्माण गरेको तथा विसं १६१० देखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले स्थापना गरेर २०९ वर्षसम्म विशाल मकवानपुर राज्यको राजधानी रहेको मकवानपुरगढी दरबार क्षेत्र विकासका लागि प्रदेश सरकारले पनि अग्रसरता देखाएको छ । मुख्यमन्त्री डोरमणि पौडेल बेला बेला मकवानपुरगढी पुगेर विभिन्न पर्यटकीय स्थल पुगेर आफ्नो तर्फबाट सकेसम्म सहयोग गर्ने बचन दिने गरेका छन् । हेटौँडा बजारबाट १७ किलोमिटर उत्तरपूर्वतर्फ कान्तिराजपथ हुँदै लागेपछि गढी क्षेत्र पुग्न सकिन्छ । काठमाडौँबाट ७० किलोमिटरको यात्रापछि मकवानपुरगढीको रमणीय क्षेत्रमा आउँन सकिन्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*