आज विश्व माटो दिवस, स्वयंसेवक दिवस पनि मनाइदै
मकवानपुर । मकवानपुर लगायत देशैभर आज छैठौं विश्व माटो दिवस मनाइदैछ । ‘भूक्षय रोकौं, भविष्य बचाऔं’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी दिवस मनाउन थालिएको हो ।
स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरिएको हो ।
थाइल्यान्डका राजा भूमिबोल अदुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् डिसेम्बर ५ मा मनाउन थालिएको हो । माटो दिवस मनाउन थालिए पनि विश्वमा माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएकाले त्यसप्रति सबैको चिन्ता भने बढेको छ ।
नेपालको माटोको अवस्था चिन्ताजनक अवस्थामा पुगिसकेको माटो विज्ञहरू बताउँछन् । नेपालको माटोमा उर्वरा शक्ति ह्रास, प्राङ्गारिक पदार्थ घटेको, माटो अम्लीय बन्दै गएको ३३ वर्षअघि गरिएको अनसन्धानमा देखिएको थियो ।
यसैबिच, आज अन्तराष्ट्रिय स्वयंसेवक दिवस पनि मकवानपुर लगायत देशैभर विविध कार्य गर्दै मनाइदैछ । दिवसका अवसरमा मकवानपुरमा स्वयम्सेवीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।