विकास निर्माण
साँढे चारवर्षमा द्रुतमार्ग निर्माण पूरा हुने
मकवानपुर । फास्ट ट्रयाक बन्न ढिलाई भइरहेको भन्दै आलोचना भइरहेका बेला निर्माण जिम्मा पाएको नेपाली सेनाले आगामी २०८१ साल वैशाखसम्म निर्माण कार्य सक्ने जनाएको छ । आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सेनाले अबको साँढे ४ वर्षपछि निर्माण कार्य पूरा गर्ने जनाएको हो ।
कुल ७२.५ किलोमिटर लामो फास्ट ट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९ किलोमिटर पुल रहनेछ । ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्ट ट्रयाक पहाडी क्षेत्रमा २५ मिटर र समथर भूभागमा २७ मिटर फराकिलो हुने जनाइएको छ ।
फास्ट ट्रयाकको तीन ठाउँमा सुरुङ मार्ग हुनेछ । महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ हुनेछ । फास्ट ट्र्याकमा ८७ वटा पुल रहनेमा १६ वटा विशेष प्रकृति र ७१ वटा अन्य पुल रहने सेनाले जनाएको छ ।